भास्करको लेन्समा कर्णाली


भास्कर बस्नेत (२३) कर्णालीकै बासिन्दा हुन् । दुर्गम हिमाली जिल्ला भन्ने गरिएको डोल्पामा जन्मिएका उनलाई कर्णाली दुर्गम लाग्दैन । यस्तो सुन्दा उनी नमिठो अनुभव गर्छन् । किनकी उनले कर्णालीलाई आफ्नै आँखाले हेरेका छन् । र, धित मरुञ्जेल देखेका छन् । भोगेका छन् ।

यहीँ माटोमा हुर्किएका भास्कर कर्णालीबाहेकका अन्य क्षेत्रमा बनेको कर्णालीको चित्र तोड्न चाहन्छन् । कर्णाली विकट छ, सडकको सहज पहुँच छैन । रोग छ, गरिबी छ । अन्धकार र अशिक्षा पनि छ । यो उनलाई थाहा नभएको होइन् । तर, कर्णालीप्रति काठमाडौंलगायतका सहर र सिंहदरबारले बनाउने विम्ब जस्तो पनि छैन भन्छन् उनी । ‘हामीसँग के छैन ? प्रचूर सम्भावना छ,’ उनले भने, ‘हो त्यसको समुचित प्रयोग भने नभएको हो । हामी गरीब हुँदै होइनौं ।’

कर्णालीलाई फोटामा कैद गरेर यसको सम्भावनाबारे प्रचार–प्रसार र मन्थन गरिहिँड्ने यात्री हुन भास्कर । उनी दुई वर्षदेखि कर्णालीका कुनाकाप्चा साइकलमै पुगेका छन् । ‘कर्णालीमा रमाउन सकिँदैन भन्ने भ्रम तोड्नु छ,’ भास्कर भन्छन्, ‘कर्णालीलाई अहिलेको अवस्थाबाट माथि उठाउन सकिन्छ ।’

उनले कर्णालीका आठ जिल्लासहित देशका ४० बढी हिमाली क्षेत्रहरूमा साइकल यात्रा गरिसकेका छन् । कर्णालीसँग तुलना गर्नका लागि उनी अन्य जिल्लाका हिमाली क्षेत्रहरूमा समेत पुग्ने गरेका हुन् । लुकेर रहेका पर्यटकीय स्थलहरू चिनाउने उद्देश्यका साथ भास्कर साइकल यात्रामा निस्कन्छन् । भास्करको यात्रामा कहिल्यै नछुट्ने साथी हो, क्यामेरा । ‘क्यामेराविना म कत्तै हिँड्दिन,’ उनले भने । जहाँ पुग्यो त्यहीँ पर्यटकीय स्थलहरूको खोजीमा जुट्छन् उनी ।

कसैले स्पर्श नगरेका र नदेखेका ‘भर्जिन’ प्राकृतिक सौन्दर्यसँग उनले कयैंन समय बिताएका छन् । त्यस्ता स्थान उनले क्यामेरामा कैद गरेर फोटो प्रदर्शनीमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कर्णाली चिनाएका छन् । ‘मैले कर्णालीको पर्यटन सम्भावना उजागर गर्ने प्रयास गरेको हुँ । सुनेकै भरमा नकारात्मक दृष्टिकोण बनाउनुभन्दा एक पटक कर्णाली घुम्न म सबैलाई भनिरहेको छु,’ भास्करले भने ।

उनी फोटोबाटै कर्णालीको परिचय दिन चाहन्छन् । यसअघि कर्णालीको रोग, भोग र गरिबी तथा विकटतालाई देखाउने फोटो मात्रै प्रदर्शनी भएकाले अब कर्णालीको सम्भावना र सौन्दर्य फोटामा उतार्नुपर्ने उनको बुझाइ छ । अहिलेसम्म खास कर्णाली कोट्याइएको छैन । राम्रो पक्ष कमै मात्र बाहिर ल्याउने गरिएको जस्तो उनलाई लाग्छ । उनी प्रश्न गर्छन्, ‘ के कर्णालीलाई राम्रो भन्ने आधार छैन ?’ यही प्रश्नले पहिले उनलाई पनि बारम्बार सताएपछि थियो । उनी यसैको उत्तरको खोजीमा साइकल यात्रामा निस्किए । जवाफ पाउनु भयो त ? भन्ने हाम्रो जिज्ञासामा भास्कर भन्छन्, पाए नि । विगतदेखि बुझाइएको कर्णाली र वास्तविकतामा आकाश जमिनको फरक छ ।’

यतिबेला सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय स्थल बुलबुले उद्यानमा ‘कर्णाली उत्सव’को दोस्रो संस्करण चलिरहेको छ । देशभरबाटै विभिन्न क्षेत्रका मानिसहरू त्यहाँ भेला भएका छन् । भास्कर पनि आफूले क्यामेरामा कैद गरेका तस्बिर देखाउन यहाँ आएका हुन् । चार दिनसम्म चल्ने उत्सवमा कर्णालीका कुडा गरिँदै छ । जहाँ कर्णालीको समग्र विकास र विविधतामाथि बहस चल्ने छ । कार्यक्रम स्थलमा भास्करको पनि फोटो प्रदर्शनी छ । त्यहाँ पुग्ने जो कोहीले उनले खिचेका तस्विर चाख मानेर हेरिरहेका छन् । उनले कर्णालीको धार्मिक, पर्यटकीयलगायत कला, संस्कृति झल्कने फोटाहरू प्रदर्शनीमा राखेका छन् ।

धेरैले यो पनि कर्णालीको फोटो हो र ? भनेर सोध्ने गरेको उनी सुनाउँछन् । भास्करले चार हजार मिटरको उचाइमा रहेको छो मार्बो ताल डोल्पा, शे–फोक्सुण्डो ताल, दुधकुण्डली, जगदुल्ला ताल, पुग्मको पुफुलेक र राक्षस ताल लगायतमा पुगेर खिचेका तस्बीर प्रदर्शनीमा राखेका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिका–६ मा जन्मिएका भास्कर पेसाले सिभिल इन्जिनियर हुन् । जो कर्णालीको सौन्दर्य खिचिरहेका छन् । उनका सहोदर भाइ विमल बस्नेत पनि फोटोग्राफीमै लागेका छन् । कर्णालीको बारेमा बनेको नराम्रो दृष्टिकोण तोड्ने अभियानमा दुई दाजुभाइ नै लागेको भास्कर बताउँछन् ।

हिमाली जिल्लाहरूका धेरै ठाउँमा साइकल बोक्नुपर्ने भए पनि पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्न नछोड्ने अठोट गरेको उनले सुनाए । उनले भने, ‘कर्णालीको कथा फोटोबाटै देखिने मेरो उद्देश्य हो । यो अभियानमा विचलित नभएर लागिरहने छु ।’ भास्करको यात्रामा थुप्रै व्यक्ति तथा संघ संस्थाले साथ दिएका छन् । फोटोबाटै कर्णाली चिनाउने अभियानमा रहेका यिनले सरकारी निकायबाट भने सहयोग नपाएको बताए ।

सानैदेखि साइकल चलाउने रुचि भएका उनी साइकलकै राष्ट्रियस्तरको खेलाडी बन्न चाहन्थे । सुरूमा उनी यहीँ सपना बोकेर हिँडे पनि । ‘तर, त्यसका लागि उतिबेला मसँग पैसाको अभाव थियो । मैले बाटो मोडे । अहिले जे गरिरहेको छु । यसमै आनन्द छ,’ उनले भने । त्यसपछि भास्कर एउटा साइकलको जोहो गरेर पर्यटकीय क्षेत्रहरूको खोजीमा हिँडेका हुन् । उनी अहिले कर्णालीको सम्भावना मात्र खोज्दैनन् फोटोमै यहाँको आवश्यकता औल्याइदिन्छन् । भनिन्छ, तस्बीर आफै बोल्छ । हो, भास्करले खिचेका तस्बिर पनि कर्णालीबारे आफै बोलिदिन्छन् ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७७, शनिबार ०६:०५