प्रदेश संग्रहालयमा सुधार

संग्रहालयमा प्रदर्शनी कक्ष बढाउने, प्रविधिमैत्री बनाउने, प्रदेश सरकारका महŒवपूर्ण निर्णयहरूको अभिलेखालय गर्ने र पुस्तकालय राखिने भएको छ।

संग्रहालयमा प्रदर्शनी कक्ष बढाउने, प्रविधिमैत्री बनाउने, प्रदेश सरकारका महŒवपूर्ण निर्णयहरूको अभिलेखालय गर्ने र पुस्तकालय राखिने भएको छ।


प्रादेशिक संग्रहालय तथा अभिलेखालय कर्णाली प्रदेश मातहत ल्याइएपछि थप व्यवस्थित र विस्तार भएको छ । सरकारको बजेट, नीति तथा कार्यक्रममा उपेक्षामा पर्दै आएको जीर्ण संग्रहालयमा संघीयतापछि सुधारका प्रयासहरू थालिएको हो । २०७५ असोज ५ गते संग्रहालय प्रदेश मातहत ल्याएको थियो । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय संग्रहालय भए पनि यहाँ भौतिक संरचना, आवश्यक जनशक्ति, पर्यटक तथा अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्ने ऐतिहासिक तथा पुराताŒिवक वस्तुहरू थोरै मात्र प्रदर्शनीमा राखिएका थिए ।

हाल संग्रहालयमा कर्णाली प्रदेशको मौलिकतालाई झल्काउने प्रयास गरिएको छ । कर्णालीको कला, संस्कृति र इतिहासलाई प्राथमिकता दिएर संग्रहालयको स्वरुप बदल्ने काम सुरू भएको हो । प्रदेश संग्रहालय तथा अभिलेखालयका निमित्त कार्यालय प्रमुख डबलप्रसाद शर्माले अहिले प्रदेश सरकारबाट नै बजेट विनियोजन भएर आउने गरेको बताए । उनले लोप भएका तर कर्णालीको मौलिक पहिचान झल्काउने सामग्री, तस्विर, पोशाक, विभिन्न ऐतिहासिक वस्तुहरूलाई प्राथमिकता दिएर प्रदर्शन कक्षमा राखिएको जनाए । प्रदेश संग्रहालयमा पुराना तथा लोप भइसकेका भेषभूषा, गरगहना, भाँडाकुडा, पानीघडी, ढिकी लगायतका सामग्री छन् । मगर, थारु, राउटे, कुमाल, लामा जातिका समुदायको कला, संस्कृति झल्काउने सामग्री पनि यहाँ प्रदर्शनीमा राखिएको छ ।

यस्तै, संग्रहालय पुग्नेहरूले पहिले सुर्खेत उपत्यका कस्तो थियो भन्नेबारे आधा घण्टाको ‘भिडियो डकुमेन्ट्री’ समेत हेर्न पाउँछन् । संग्रहालय हेर्न जानेले सुर्खेतको बारेमा पनि जानकारी पाउँछन् । संग्रहालय प्रदेश मातहत आएपछि धेरै कुराहरूमा सुधार भएको छ । सामग्रीहरू राख्ने ग्यालरी, सीसी क्यामेरा, गार्डेनको राम्रो व्यवस्थापन गरिएको छ । रंगरोगन गरेर आकर्षित बनाइएको छ । विभिन्न सामग्री खरिदका लागि प्रदेश सरकारले १२ लाख बजेट विनियोजन गरेको उनको भनाइ छ ।

निमित्त प्रमुख शर्माका अनुसार संग्रहालयमा पुस्तकालय समेत बनाइँदै छ । पुस्तकालयमा विभिन्न ऐतिहासिक, धार्मिक, कला, साहित्य तथा सूचना प्रविधिलगायतका पुस्तक एवम् पाठ्य सामग्रीहरू राखिने छ । संग्रहालय र अभिलेखालयका लागि अर्को नयाँ भवन निर्माणाधीन अवस्थामा छ । उक्त भवन प्रदेश सरकारकै लगानीमा बन्न लागेको हो । प्रदेशले बजेट छुुट्टाएर काम गर्न थालेपछि थुप्रै सुधार–विस्तारका काम हुनुका साथै थप व्यवस्थित बन्दै गएको शर्मा बताउँछन् । प्रदेश सरकारले भवनका लागि एक करोड बजेट विनियोजन गरेको छ । केही सामग्री स्टोरमा रहेको र कतिपय खरिद गर्ने प्रक्रियामा रहेकाले भवन बनेपछि प्रदर्शनी कक्ष थप गरेर राखिनेछ ।

संग्रहालयलाई प्रविधिमैत्री पनि बनाइएको छ । हाल २० वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रदेश सरकारका महŒवपूर्ण निर्णयहरूको समेत अभिलेखालय गर्ने तयारी संग्रहालयले गरेको छ । संग्रहालयमा पछिल्लो समय मानिसहरूको चहलपहल पनि बढ्दो छ । निमित्त प्रमुख शर्माले पछिल्लो समय प्रदर्शनी हेर्न आउनेको संख्या बढ्दै गएको बताए । संग्रहालयमा सबैभन्दा बढी विद्यार्थीहरू आउने गरेका छन् । संग्रहालय हेर्न जाने विद्यार्थीहरूलाई पाँच, अन्यलाई १०, क्यामेरा लिएर जानेलाई २० र विदेशी पर्यटकलाई एक सय रूपैयाँ शुल्क लिने गरिएको छ ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७७, बिहीबार ०९:५१