सुरू भयो कर्णालीको बहस

दोस्रो संस्करणको कर्णाली उत्सव, कुडा कर्णालीका सुरू भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले बुधवार उत्सवको उद्घाटन गरिएको हो । आयोजक संस्था ऋति फाउण्डेशनले विभिन्न संघ–संस्थाको समन्वयमा कर्णालीको विविध पक्षबारे मन्थन गर्न उत्सवको आयोजना गरिएको जनाएको छ ।

उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभ्यता, संस्कार, हिजोको सामाजिक परिवेश र पुुर्खाका इतिहास पहिल्याउन यस्ता कार्यक्रम प्रभावकारी बन्नेमा विश्वास व्यक्त गरे । नयाँ र पुराना पुस्ताका लागि सिकाइ आदान–प्रदान गर्न पनि यस्ता खालका बहसहरू हुन जरुरी रहेको उनले औंल्याए । ‘कर्णालीको भाषा, संस्कृति, रितीरिवाज र इतिहास जान्न आवश्यक छ । यस्ता उत्सव तथा छलफलका कार्यक्रमले कर्णाली चिनाउन सहज हुनेछ,’ उनले भने । प्रदेश सरकारले यस्ता बहस सञ्चालन गर्ने संघ–संस्थालाई आवश्यक सहयोग समेत प्रदान गर्ने उनको भनाइ थियो ।

दोस्रो संस्करणको पहिलो दिन बुधवार विभिन्न विषयहरूमाथि बहसको सुरुवात गरिएको छ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का, सुर्खेत उद्योग वाणिज्य संघका सदस्य सीया कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख देवकुमार सुवेदी लगायतले आफू संलग्न संस्था तथा क्षेत्रको वस्तुस्थितिबारे जानकारीमूलक मन्तव्य राखेका थिए ।

विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा बहस र छलफल गरी कर्णाली हेर्ने दृष्टिकोण बदल्ने प्रयास स्वरूप उत्सवको आयोजना गरिएको आयोेजक संस्थाले जनाएको छ । कर्णालीको विविधता, सम्भावना, चुनौति, विकृति, भेषभूषा, भाषा, मौलिक संस्कृति र विकासबारे उत्सवमा छलफल गरिने छ । चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा आज ‐बिहीवार) छाउ र भाउ, बाडो, थाडो र ओटालो, आफ्नै कथा, आम्नै बान्की, कहरी शुकालो होला, कइले जाला कठै ?, हाट जान्या, भोट जान्यालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७७, बिहीबार ०९:५१