असुरक्षित समाज
दैलेखमा सोमवार एउटा दुःखद घटना भयो । आठबीस नगरपालिका–३ निमाइलकी सुकी बडुवाल आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हेलिएर आत्महत्या गरिन् । तीन सन्तानसहित सुकीको शव नदीबाट निकालिएको छ । एक जना अझैं बेपत्ता छन् । घटनाको कारण खुलिसकेको छैन । तर छरछिमेक र आफन्तहरूका अनुसार श्रीमान्बाट लगातार हुने घरेलु हिंसा सहन नसकेर उनले छोराछोरीसहित कर्णालीमा हाम फालेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी–प्रशासनले अनुसन्धान गरिरहेको छ । घटनाको वास्तविकता आउला नै तर यो घटनाले समाजमा महिलाहरूको असुरक्षित अवस्था र त्यसले निम्त्याउने दुःखद परिणामको कुरूप दृष्य देखाएको छ । यस्तै घटनाहरू समाजमा व्याप्त छन् ।
महिलामाथि हुने हिंसा विकराल छ । घरेलु हिंसादेखि अन्य जघन्य अपराधबाट पीडित हुनुपरिरहेको छ । विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भइरहेका छन् । महिला हिंसाले महिलालाई मात्र असर पु¥याएको छैन, पूरै देश र समाजलाई नराम्रोसँग प्रभावित गरिरहेको छ । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवम् परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनता जस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन् । महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचविखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिकघर–व्यवहारमा भेद्भाव गर्ने, संस्कार एवम् परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने÷गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भइरहेका छन् ।
पितृसत्तात्मक समाजमा महिलाले आफूमाथिको हिंसा जन्मपछि मात्र नभएर जन्मनु अघि गर्भबाटै भोग्न सुरु गर्दछ । गर्भमा छोरी भएकै कारण गर्भनै तुहाउने होस् या छोरी भएकै कारण घरका काम गर्नुपर्ने बाध्यता, दिनानुदिन समाचारमा आइरहने बलात्कार र एसिड आक्रमणका घटना हुन् या विशिष्ट तथा सार्वजनिक पद ओगटेका मानिसहरूबाट महिलामाथि दुव्र्यवहार र हिंसा भए गरेका सूचनाहरू हुन् । हाम्रो समाजमा महिला तथा बालिकाहरू लैङ्गिक असमानताका कारण सामाजिक र संरचनागत रूपमै कमजोर पार्नका निम्ति यथेष्ट प्रयासहरू नीति, मान्यता, संस्कार, धर्मका नाममा भए गरेका छन् । यसले महिलालाई परिवारभित्रै र बाहिर समाजमा पनि असुरक्षित बनाएको छ ।
महिलामाथिको हिंसा घट्नुको साटो बढेको तथ्यांकहरूले देखाएका छन् । तर यस्ता हिंसा अन्त्य गर्न प्रभावकारी पहल भने हुन सकेको छैन । सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम र प्रयासहरू त भइरहेका छन् तिनले समाजलाई डो¥याउन सकेको छैनन् । अपेक्षाकृत रूपमा समाजको मनोविज्ञान र हिंस्रक रूप बदल्न सकेका छैनन् । महिला हिंसा कुनै एउटा मात्र कारणको उपज होइन त्यसैले न्यूनीकरण कसरी होला भन्ने विशेष बहुआयामिक तरिकाले हेरिनुपर्छ । हरेक व्यक्तिको चेतनामा सुधार अपरिहार्य छ । जसले हिंसा गर्नु हुँदैन भन्ने सोचको विकास गर्न सकोस् ।
प्रकाशित मितिः २७ फाल्गुन २०७७, बिहीबार ०९:४३
साझा बिसौनी ।