छात्रवृत्ति दिन २५ लाखको अक्षयकोष
सुर्खेत क्याम्पस शिक्षामा २५ लाख रूपैयाँको भीम–कमला छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । बुधवार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो । महावु गाउँपालिका–५ दैलेख स्थायी ठेगाना भएकी कमलादेवी मल्लले आफ्ना दिवङ्गत पति भीमबहादुर मल्लको सम्झनामा अक्षयकोष स्थापना गरेकी हुन् ।
हाल कोहलपुर नगरपालिका–६ बस्ने कमलादेवीले आफ्ना भतिज जयबहादुर मल्ल, भाइ–बुहारी धर्मराज शाही र विमला शाहीसहित सुर्खेत क्याम्पस शिक्षाका प्रमुख माधवप्रसाद खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कमलादेवीले क्याम्पसको भवन निर्माणका लागि ७५ लाख एक हजार रूपैयाँ समेत प्रदान गर्ने घोषणा गरेकी छन् । क्याम्पसमा विभिन्न विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रछात्राहरूलाई छात्रवृत्ति दिनका लागि अक्षयकोषको स्थापना गरिएको उनले बताइन् ।
प्रकाशित मितिः २७ फाल्गुन २०७७, बिहीबार ०९:४२
साझा बिसौनी ।