आजदेखि कर्णाली उत्सव
कर्णाली उत्सव, कुडा कर्णालीको दोस्रो संस्करण आज (बुधवार) देखि सुरू हुँदैछ । कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले आयोजना गर्न लागिएको उत्सव वीरेन्द्रनगरको बुलबुले उद्यानमा आजदेखि सुरू गर्न लागिएको हो । कर्णाली हेर्ने दृष्टिकोण बदल्ने प्रयासस्वरूप कर्णाली उत्सवको आयोजना गरिएको आयोेजकले बताएका छन् ।
उत्सवमा यहाँको विविधता, भेषभूषा र भाषाका थुप्रै आयामहरूबारे बहस हुनेछन् । कर्णाली उत्सवको मूल आयोजक समितिले मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उत्सवको तयारी पुरा भएको जनाएको छ । चार दिनसम्म सञ्चालन हुने उत्सवमा विभिन्न विधामा १४ वटा सेसन सञ्चालन गरिने भएको छ । आज दिउँसो दुई बजेदेखि बुलबुले उद्यानमा उत्सवको उद्घाटन हुने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ । कार्यक्रममा कर्णालीसँग सम्बन्धित छाउ र भाउ, बाडो, थाडो र ओटालो, आफ्नै कथा, आम्नै बान्की, कहरी शुकालो होला, कइले जाला कठै ?, हाट जान्या, भोट जान्यालगायतका शीर्षकमा छलफल हुनेछन् ।
यस्तै, २८ गते शुक्रवार कर्णाली घुमाउटो पड्यो, पढ्नु पड्डोछ, साक्षर शिक्षित र प्राज्ञिक, प्राङ्गारिक प्रयास, पुईसाका कुडा, थैलीदेखि बैँकसम्म, पूर्वाधार विकासः समृद्ध कर्णालीको पूर्व आधारका विषयमा बहस हुनेछ । २९ गते शनिवार पश्चिममा प्रशासक, पश्चिमका प्रशासक, सरकारी गैरसरकारी, लोकतन्त्रको लय र मुख्य मान्ठ, मूल कुडा सेसनमा बहस हुुने तालिका छ । मुख्य मान्ठ, मूल कुडामा कर्णालीका प्रदेशका मुख्यमन्त्री र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बहस गर्ने छन् ।
त्यस्तै, कर्णाली उत्सवमा नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुुष्प कंडेल, प्रदेशका मन्त्रीहरू, लेखक, साहित्यकार, सामाजिक अभियान्ता, पत्रकारलगायतको उपस्थित रहने आयोजकले जनाएको छ । मूल आयोजक समितिका संयोजक कमलराज लम्सालले कर्णालीलाई चिन्न र चिनाउनका साथै कर्णालीकै दृष्टिकोण बदल्न उत्सव गर्न लागिएको बताए । ‘कर्णालीका लागि केही गरौं भन्ने भावनाले उत्सवको आयोजना गरिएको हो । कर्णालीलाई हेर्ने दृष्टिकोणलाई बदल्नु छ । कर्णालीलाई कर्णालीकै दृष्टिले हेर्नुपर्छ भनेर बहस सुरु गरेका छौं,’ उनले भने । उत्सवमा कर्णालीका फोटो प्रदर्शनीसँगै प्रदेशका सात जना साहासी व्यक्तिहरूको कथालाई पनि सुनाइने छ ।
प्रकाशित मितिः २६ फाल्गुन २०७७, बुधबार ०८:४८
साझा बिसौनी ।