चार सन्तानसहित कर्णालीमा हेलिइन आमा
चार जनाको शव भेटियो, एक जना अझैं बेपत्ता
दैलेखकी ३५ वर्षीया एक महिलाले चार छोराछोरीसहित कर्णालीमा हाम फालेकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान र पारिवारिक स्रोतका अनुसार उनले घरेलु हिंसा सहन नसकेर सामूहिक आत्महत्याको बाटो रोजेकी छन् । आठबीस नगरपालिका–३ निमाइलकी सुकी बडुवाल र उनका तीन सन्तानको लाश मंगलवार कर्णाली नदीबाट निकालिएको छ । एक बेपत्ता छन् । श्रीमान्को हिंसा सहन नसकेर उनले छोराछोरीसहित कर्णालीमा हाम फालेको हुन सक्ने स्थानीयले बताएका छन् ।
सुकीसहित तीन छोराछोरीको शव अछामकोपञ्चदेवल विनायक नगरपालिकाको बेलखेतस्थित कर्णाली नदीमा भेटिएको छ । प्रहरीले आमा सुकी, १४ वर्षीय छोरी कल्पना बडुवाल, १२ वर्षीय सरिता बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको शव भेटाएको हो । उनीहरूको शव पोष्टमार्टमका लागि अछामको मंगलसेन लगिएको छ । कान्छी छोरी सात वर्षीय रजनी बडुवाल बेपत्ता छिन् । सुकीसहित छोराछोरी आइतवार कर्णालीमा गएर हाम फालेको स्थानीय बताउँछन् । आइतवार अन्तर्राष्ट्रिय नारी दिवसकै दिन सुकीले सन्तानसहित सामूहिक आत्महत्या गरेकी हुन् ।
दैलेख प्रहरीले सुकीका श्रीमान् मानबहादुर बडुवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय अछाममा पठाइएको छ । अछाम प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने छ । शव अछाममै भेटिएकोले यो घटना अछाम प्रहरीले नै हेर्ने गरी पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनले अहिले अनुसन्धान भइरहेकाले यसै कारणले घटना घटेको भनेर भन्न नसकिने बताए । उनले भने, ‘पारिवारिक कलह पनि हुन सक्छ । श्रीमान्सँग बुझ्ने काम भएको छ । अनुसन्धानको क्रममा छ । बाँकी अनुसन्धान जिल्ला प्रहरी कार्यालय अछामले गर्छ ।’ मृतकहरूको पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाबारे थप खुल्ने उनले बताए ।
सुकीका भदै कमल थापाले उनका श्रीमान् मानबहादुर बडुवाले पहिलेदेखि नै मदिरा सेवन गरे झगडा गरिरहने गरेको बताए । उनका अनुसार २० दिन अघि मात्र सुकी आफ्नो पारिवारिक समस्या लिएर माइती घरमा गएकी थिइन् । ‘श्रीमान्ले मदिरा खाने र झगडा गर्ने गरेको कुरा गर्नुभएको थियो । त्यसबेला हामी ‐माइती) गएर सम्झाइबुुझाइ पनि गरेका हौं ,’ उनले भने, ‘तर यस्तो घटना होला भन्ने सोचेकै थिएनौं । आफन्तहरूका अनुसार सुकी तीन महिनाकी गर्भवतीसमेत थिइन् ।
वडा अध्यक्ष प्रयागबहादुर शाहीले उनका श्रीमान्ले मदिरा सेवन गरेर झगडा गरिरहने गरेको पाइएको बताए । ‘श्रीमान्ले मदिरा खाएका रहेछन् । पसलबाट घर लिएर गएकी रहिछन् । त्यही साँझ के विवाद भयो थाहा भएन् । श्रीमान् घरमा सुते छन् । राति आएर नदीमा हाम फालेछन् भनेको सुनियो ।’ त्यसदिन श्रीमान्ले मदिरा खाएपछि सुकीले घरमा ल्याएर आएको छिमेकीहरूले देखेको वडा अध्यक्ष शाहीले बताए । त्यसपछि के विवाद भयो भन्नेबारे कसैलाई जानकारी नभएको उनले बताउँछन् ।
आठबीस नगरपालिकाका उपप्रमुुख दीपा बोहोराले पनि सुकीका श्रीमान्ले पहिलेदेखिनै मदिरा सेवन गरेर झगडा गर्ने गरेको पाइएको बताइन् । ‘श्रीमान्ले मदिरा खाने, दिनहुुँ निहुँ खोज्ने र झगडा गर्ने रहेछन्,’ उपप्रमुख बोहोराले भनिन्, ‘आत्महत्याको कारण यसै भन्न नसकिए पनि घरेलु हिंसा नै हुन सक्ने देखिन्छ ।’ उनले पहिले झगडा पर्दा माइतीले समेत मिलाएकाले उनी आजित भएर सन्तानसहित मर्न खोजेको अनुमान गर्न सकिने बताइन् ।
प्रकाशित मितिः २६ फाल्गुन २०७७, बुधबार ०८:५०
साझा बिसौनी ।