ब्युँतिए पार्टी कार्यालय

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्ना पार्टी गतिविधि अघि बढाएका छन् । दुवै दलका नेता कार्यकर्ता पार्टी कार्यालयको व्यवस्थापनमा जुटेका हुन् । देशभरका कार्यालयमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साइनबोर्ड हटाउन थालिएको छ । पार्टी ब्युँतिएपछि दुवै दलका कार्यकर्ता उत्साहित बनेका छन् । उनीहरू दीपावली गरेर हर्ष मनाउ गर्दै पार्टीमा क्रियाशील बनेका हुन् ।

सर्वोच्च अदालतले पार्टी ब्युँताइदिएपछि मंगलवार पार्टी कार्यालयहरूमा आ–आफ्नै बोर्ड राखिएका छन् । माओवादीले केही कार्यालयमा मात्र साइनबोर्ड राखेपनि एमालेले भने मंगलवार देशभरका अधिकांश पार्टी कार्यालयमा बोर्ड राखिसकेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित ऋषि स्मृति भवनमा एमाले जिल्ला र प्रदेश कार्यालयको साइनबोर्ड राखिएको छ । दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेको कार्यालय यसै भवनमा थियो । नेकपा विभाजित भएर अलगअलग समूह भएपछि कार्यालय बन्द थियो भने पार्टीका गतिविधिहरू बाहिरै हुने गरेका थिए । साइनबोर्ड राखेपछि पाटीका नेता कार्यकर्ता उत्साहीत भएर नाचगान समेत गरेका छन् । उनीहरूले पार्टी ब्युँतिएको खुसीयाली साटासाट गरेका हुन् ।

यस्तै, माओवादी केन्द्रले पनि जिल्ला कार्यालयमा साइनबोर्ड राखेको छ । एमालेको जिल्ला र प्रदेश पार्टी कार्यालयको झण्डै एक सय मिटर पूर्वमा माओवादी केन्द्रको कार्यालय छ । सुर्खेतमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहितको साइनबोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । सर्वोच्चको अदालतको फैसलाले पूर्ववत् पार्टी ब्युँताइदिएपछि नेकपा खारेज भइसकेको छ ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७७, बुधबार ०८:४४