उत्पीडनको दलदल

महिला र पुरुष समाजका समान अंश हुन् । उनीहरूको समान दायित्व र अधिकार छ । फरक भनेको शारीरिक बनोट र अवस्था मात्रै हो । त्यसबाहेक महिला वा पुरुषमा कुनै प्रकारका भेद छैन । हुनु पनि हुँदैन । तर आदिमकालदेखि नै पितृसत्तात्मक समाजले महिला र पुरुषबीच विभेदको खाडल खनिदिएको छ । जसलाई पुर्न सकिएको छैन । पुरुष सत्ताधारीजस्तो र महिला शासित वर्गजस्तो भूमिकामा देखिएका छन् । यो महिलाहरूको अक्षमताका कारण भएको होइन, पुरुष केन्द्रीय सत्ता र संरचनाले निर्माण गरेको पद्धति हो ।

पुरुष र महिलाबीचको विभेद एक होइन अनेक छन् । महिलाहरू पाइलैपिच्छे उत्पीडन भोग्नुपरिरहेको छ । असमानता र अन्यायको दलदलमा फस्नु परेको छ । घरेलु हिंसादेखि बलात्कार र हत्याजस्ता जघन्य अपराधको सिकार हुनु परेको छ । सार्वजनिक अवसरहरूमा पछि पारिएको छ । समान काम गर्ने महिला र पुरुषबीच पारिश्रमिकमा विभेद छ । काम समान छ, ज्याला फरक । उस्तै काम गर्दा पनि महिला भएकाले थोरै र पुरुषले धेरै ज्याला बुझिरहेका छन् । काम त महिलाले पनि पुरुषभन्दा कम गर्दैनन् । महिलामाथि हरेक खाले श्रममा विभेद छ । उनीहरूको श्रमको मूल्य निकै न्यून छ । उसो त महिलाहरू शारीरिक रूपमा गरिने श्रममा मात्र ठगिएका छैनन् उनीहरूले मानसिक श्रममा पनि उस्तै उत्पीडन, यातना र शोषण खेप्दै आएका छन् । प्रतिस्पर्धा र क्षमताका आधारमा शक्ति र पहुँचमा पुगेका महिलाहरूको क्षमतामाथि पनि प्रश्न उठाइन्छ । संविधान र कानुनीले बाध्यात्मक बनाएर पदमा पुगेका मात्र होइन, आफ्नै क्षमताले नेतृत्वमा पुगेकाहरूमाथि पनि बारम्बार प्रश्न उठाउने र हतोत्साही गराउने गरिएको छ । महत्वपूर्ण काममा अवसर दिइदैन । असमान व्यवहारले महिलाको क्षमता विकास र आत्मविश्वासमा नै चोट पुग्छ ।

नेतृत्वमा पुगेका महिलाहरूले नै आफूलाई पुरुष समान व्यवहार पाएका छैनन् । महिलाहरू महिला भएकै कारण लैङ्गिक विभेद, उत्पीडन, अनेक हिंसा, अपमान र अपहेलित बन्ने गरेका हुन् । महिलाहरू रोजगारीका अवसरबाट वञ्चित छन्, ज्याला ठगिएका छन्, समाजमा दोस्रो नागरिक सरहको व्यवहार उनीहरू खेपिरहेका छन् । अहिले मुलुकमा तीन तहका सरकार छन् । जसको नेतृत्व जनप्रतिनिधिहरुले गरिरहेका छन् । उनीहरूलाई नागरिकले निर्वाचनमार्फत छनौट गरेका हुन् । तर उनै नागरिकले छनौट गरेर पठाएका जनप्रतिनिधिहरूमाझ पनि महिला र पुरुषबीच असमानताको ठूलो खाडल छ । पुरुषवादी चिन्तन र व्यवहारलाई स्वीकार गर्न बाध्य भएको गुनासो महिला जनप्रतिनिधिहरूले गर्दै आएका छन् । जुनसुकै ठाउँमा महिलाको नेतृत्वलाई विश्वास नगर्ने मानसिकता हावी छ । महिलाहरू हरेक निकायमा नेतृत्व गर्न सक्षम हुँदाहुँदै समाजको हेर्ने दृष्टिकोण नबदलिनु दुःखद हो । यसखालको चिन्तन र व्यवहारले समाज अग्रगमनतर्फ जाँदैन । अझ पछाडि धकेलिन्छ । कानुनी रूपमा पछिल्लो समय महिलाहरूलाई अधिकारसम्पन्न बनाइएको छ । यद्यपि त्यसको व्यवहारिक कार्यान्वयनको पाटो अत्यन्तै निराशाजनक छ ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७७, बुधबार ०८:३९