पाइलैपिच्छे उत्पीडन
तुल्सीकुमारी सुनार मजदुर हुन् । वीरेन्द्रनगर-२ की उनी दिनभरी गिट्टी बालुवा बोक्ने काम गर्छिन् । त्यस काम वापत उनलाई दिनमा ६ सय रूपैयाँ पारिश्रमिक दिइन्छ । तर उनीसँगै मजदुरी गर्ने पुरुषहरू पनि छन् । तीनले भने सात सय रूपैयाँ पाउँछन् ।
काम समान छ, ज्याला फरक ! उस्तै काम गर्दा पनि महिला भएकाले उनले थोरै र पुरुषले धेरै ज्याला बुझिरहेका हुन् । काम त उनले पनि पुरुषभन्दा कम गर्दिनन् । तुल्सीकुमारीलाई ठूलो अन्याय महसुस हुन्छ, किन कि पुरुष भएकै कारण समान काम गर्दा पनि उनीहरूले दुई सय बढी बुझ्छन् । उनले दुई सय रूपैयाँ कम ।
‘हेर्नुस् यस्तो अन्याय छ हामी महिलालाई,’ उनी भन्छिन्, ‘परिवारको गर्जो टार्न काम गर्नुको विकल्प छैन । काम उस्तै हो । हाम्रो श्रमशोषण गरिन्छ ।’ काम दिने ठेकेदारलाई गुनासो गर्दा पुरुषहरूले धेरै काम गर्छन् तिमीहरूले कम भनिदिन्छन् । ‘ठेकेदार पनि त पुरुष नै हुन्छन् । हामी महिलाको मर्म कसले बुझ्छन्,’ तुल्सीले भनिन् ।
महिलामाथि हरेक खाले श्रममा विभेद छ । तर सबैभन्दा बढी मर्कामा छन् तुल्सीकुमारीजस्ता कडा श्रम गर्नेहरू । जसको श्रमको मूल्य निकै न्यून छ । रातदिन काममा घोटिँदा पनि उनीहरूले भोको पेट बस्नुपर्छ । कामको प्रकृति उस्तै भए पनि समान ज्याला नपाउँदा दुःख लाग्ने गरेको निर्माणका काममा संलग्न मजदुरहरू बताउँछन् ।
उसो त महिलाहरू शारीरिक रूपमा गरिने श्रममा मात्र ठगिएका छैनन् उनीहरूले मानसिक श्रममा पनि उस्तै उत्पीडन, यातना र शोषण खेप्दै आएका छन् । दीपा बोहोरा आठबीस नगरपालिका दैलेखकी उपप्रमुख हुन् । उनलाई नगरबासीले मतदानमार्फत चुनेर प्रतिनिधि बनाएका छन् । तर, पुरुषले उनको क्षमतामाथि प्रश्न उठाइरहन्छन् । भन्छन्, ‘यिनले यो काम गर्न सक्दिनन् ।’ कार्यक्षेत्रमा हुने असमान व्यवहार भोगिरहेकी बोहोरा भन्छिन्, ‘सुन्दा सामान्य लाग्छ । यस्ता व्यवहारले महिलाको क्षमता विकास र आत्मविश्वासमा नै चोट पुग्छ ।’
निर्वाचित हुनुभन्दा पहिले पनि कार्यक्षेत्रमा असमानता झेल्दै आएको उनले सुनाइन् । उनी अहिले पनि पुरुषवादी चिन्तन र व्यवहारलाई स्वीकार गर्न बाध्य भएको बताउ“छिन् । ‘सामान्य कर्मचारीले समेत प्रमुखलाई जसरी उपप्रमुखलाई व्यवहार गर्दैनन् । काम गर्ने कुरामा राम्रो रिजल्ट आए पनि महिलालाई प्रशंसा गर्न हिचकिचाउने प्रवृत्ति छ,’ मसँग यस्ता थुप्रै अनुभव छन् बोहोराले भनिन् । जुनसुकै ठाउँमा महिलाको नेतृत्वलाई विश्वास नगर्ने मानसिकता हावी भएको उनले बताइन् । सेवाग्राहीले समेत उपप्रमुख भन्दा प्रमुखलाई नै जिम्मेवार ठान्ने गरेको उनको अनुभव छ । महिलाहरू हरेक निकायमा नेतृत्व गर्न सक्षम हुँदाहुँदै समाजको हेर्ने दृष्टिकोण नबदलिनु दुःखद भएको उनको भनाइ छ । यसखालको चिन्तन र व्यवहारले समाज झन्पछि पर्दै जाने उनले चिन्ता व्यक्त गरिन् ।
लक्ष्मी खरेल कारागार कार्यालय सुर्खेतकी प्रमुख छन् । सामाजिक संरचना नै महिलालाई प्रमुख ठान्ने खालको नभएको उनको अनुभव छ । सामाजिक संरचनालाई तोड्दै सकारात्मक सोच निर्माण गरी काम गर्नुपर्ने बाध्यता अझै रहेको उनी बताउ“छिन् ।
विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेको १ सय ११ वर्ष पुग्यो । शताब्दी लामो यो समयमा थुप्रै पटक महिला अधिकारका कुरा गरिए, समान ज्यालाका नारा लागे, थुप्रै कानुनी व्यवस्था पनि थपिए । तर पनि नेतृत्वमा पुगेका महिलाहरूले नै आफूलाई पुरुष समान व्यवहार पाएका छैनन् । महिलाहरू महिला भएकै कारण लैगिंक विभेद, उत्पीडन, अनेक हिंसा, अपमान र अपहेलित बन्ने गरेका हुन् । महिलाहरू रोजगारीका अवसरबाट वञ्चित छन्, ज्याला ठगिएका छन्, समाजमा दोस्रो नागरिक सरहको व्यवहार उनीहरू खेपिरहेका छन् ।
संविधान र कानुनीले बाध्यात्मक बनाएर पदमा पुगेका मात्र होइन, आफ्नै क्षमताले नेतृत्वमा पुगेकाहरूमाथि पनि बारम्बार प्रश्न उठ्ने गरेको महिला अधिकारकर्मीहरू बताउँछन् । उनीहरू पदमा छन् तर भूमिकामा छैनन् । कार्यकारी पदमा भएका महिलाहरूले समेत यस्ता खालका असमान व्यवहार झेल्दै आएका हुन् । देशभर संघीय र प्रदेश सरकारमा गरी २२ जना महिलाहरू मन्त्री र राज्यमन्त्री पदमा छन् । महिलाहरू ठूलो संख्यामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि छन् । यो संख्या हेर्दा महिलाहरू मूलधारको राजनीतिमा सक्रिय सहभागितामा रहेको देखिन्छ ।
स्थानीय तहमा पनि महिलाहरू नेतृत्वमा पुगेका छन् । देशभरका सात सय ५३ स्थानीय तहमा प्रमुख पदमा १८ महिला विजयी भएको आयोगको तथ्यांक छ । स्थानीय तहका विभिन्न कार्यकारी पदमा उनीहरू छन् । पछिल्लो समय राजनीतिमा मात्रै नभइ अन्य क्षेत्रमा समेत महिलाहरूको प्रतिनिधित्व बढेको छ । तर समाजको सोच उस्तै छ, बदलिएको छैन । कार्यक्षेत्रमा गरिने असमान व्यवहार, उनीहरूले प्राप्त गर्ने असमान ज्यालामा परिवर्तन आउन सकेको छैन । हरेक क्षेत्रका महिलाहरूले उत्पीडनबाट अझै मुक्ति पाउन सकेका छैनन् ।
समग्र देशको अवस्थाभन्दा कणर्ालीको अझै दयनीय छ । कर्णालीका महिलाहरू थप उपेक्षित छन् । राज्यका सेवा सुविधाबाट वञ्चित छन् । यहाँका महिलाले दिनहुँ अनेक खालका हिंसाको सामना गर्दै आएका छन् । कर्णालीमा बलात्कार, हत्या तथा यातनाका घटनाको श्रृखंला बढ्दो छ । जसरी नेतृत्वमा महिलाहरूको संख्या बढ्दै गएको छ । त्यसैगरी उनीहरूमाथि हुने हिंसाका घटना समेत बढ्दै गएका छन् । कणर्ाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बालविवाह, अभद्र व्यवहार, घरेलुहिंसा लगायतका समस्याबाट आठ सय ६४ महिलाहरू प्रभावित भएका छन् । त्यस्तै प्रदेशभर एक सय १० जना महिलाले विभिन्न समस्याका कारण आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
प्रकाशित मितिः २५ फाल्गुन २०७७, मंगलवार ०७:४८
साझा बिसौनी ।