ज्येष्ठ नागरिकमा खोपले ल्याएको उत्साह
बराहताल गाउँपालिका-१० की १०१ वर्षीया टीका बुढाथोकीले सोमवार कोरोनाविरुद्धको खोप लगाइन् । लेखगाउँ स्वास्थ्य चौकी केन्द्रबाट उनले खोप लगाएकी हुन् । सरकारले आइतवारदेखि दोस्रो चरणको खोप अभियान सुरू गरेको छ । यो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथि उमेरका नागरिकहरूलाई खोप दिइँदै छ ।
सोमवारसम्म जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने बयोवृद्ध बुढाथोकी नै हुन् । लेखगाउँ स्वास्थ्य चौकी इञ्चार्ज उदय थापाका अनुसार उनले कोरोनाविरुद्धको खोप लगाउन पाएकोमा खुशी व्यक्त गरेकी छन् । ‘उहाँ आफन्तसँग खोप केन्द्रमा आउनु भएको थियो । खोप लगाएपछि निकै खुशी हुनुभयो,’ उनले भने ।
‘नयाँ रोग आयो भनेर डर लागेको थियो । औषधि पनि छैन भन्थे । खोप लाएकी छु । अब मलाई रोग सर्दैन होला हैन भनेर उहाँले सोध्नुभयो,’ बुढाथोकीलाई उद्धृत गर्दै इञ्चार्ज थापाले भने । दंग परेर खोप लगाउन आएकी उनी ढुक्क भएर फर्किएको उनले बताए ।
वीरेन्द्रनगर-५ चिसापानीका ७७ वर्षीय बमबहादुर दाहालले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । ७७ वर्षीय देवीका दाहालसँगै केन्द्रमा पुगेका उनी निकै उत्साहित देखिन्थे । खोप लगाउन पाउँदा आफूहरू खुशी भएको उनले बताए । ‘यति छिट्टै खोप लगाउन पाइन्छ होला भन्ने लागेको थिएन । खोप लगाइयो बल्ल मन ढुक्क भएको छ,’ उनले भने ।
विश्वलाई नै थला पार्ने गरी कोरोनाको महामारी फैलिएका बेला आफूहरू निकै त्रसित बनेको उनले सुनाए । ‘समाचारहरू सुुन्दा साहै्र डर लाग्थ्यो,’ उनले भने, ‘यस्तो रोग आफूलाई सरे के गर्ने भनेर हामी बुढाबुढी नै डराएका थियौं ।’ दाहाल दम्पत्तिले वीरेन्द्रनगर-७ स्थित कटकुवा स्वास्थ्य चौकीबाट कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
सोमवार कोरोनाविरुद्धको खोप लगाउने अर्का ज्येष्ठ नागरिक हुन्, वीरेन्द्रनगर-३ पतेनीका ६६ वर्षीय गंगाराम बराल । उनले पनि खोप लगाउन पाउँदा आफू उत्साही भएको बताए । ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर सुरूमै खोप लगाएको भन्दै बरालले सरकारलाई धन्यवाद समेत दिए । ‘सरकारले हामीलाई प्राथमिकता दियो । रोगबाट बचाउन यसरी सुरक्षा दिनु राम्रो हो,’ उनी भन्छन्, ‘खोप लगाएको छु । अब मलाई कोरोना संक्रमण भए पनि भाइरसलाई पक्कै जित्छु ।’ चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि रोगविरुद्ध खोप लगाएपछि त्यस्ता व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि भइ रोगबाट निम्तने जोखिम पनि कम हुन्छ । कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ को प्रभावबारे एकिन तथ्यहरू नआइसके पनि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने र कोरोनाको भाइरससँग लड्न मद्दत पुग्ने चिकित्सकहरूले बताएका छन् । नेपालमा हाल भारतबाट ल्याइएको ‘कोभिसिल्ड’ नाम कोरोनाविरुद्धको खोप मात्र लगाइएको छ । उक्त खोप भारतको सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको हो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्ले पहिलो भन्दा दोस्रो चरणको खोप अभियानमा मानिसको विश्वास बढेको बताउँछन् । ‘सुरूमा के हुने हो भन्ने डर थियो । अहिले सबैले उत्साहपूर्वक खोप लगाउनु भएको छ,’ उनले भने । पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी र वित्तीय क्षेत्रका कर्मचारीलाई खोप दिएको सरकारले दोस्रो चरणमा सबै ज्येष्ठ नागरिकलाई खोप दिइरहेको छ ।
कणर्ालीमा कोरोना संक्रमण देखिएको झण्डै १० महिनापछि सर्वसाधारणले पनि खोप लगाउन थालेका हुन् । खोप अभियानमा ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख वाग्लेका अनुसार आइतवार र सोमवार गरेर सुर्खेतमा आठ हजार चार सय ५८ जनाले खोप लगाएका छन् । तीमध्ये अधिकांश ज्येष्ठ नागरिक छन् । उनका अनुसार दोस्रो चरणको पहिलो प्राथमिकतामा सुर्खेतका पाँच वटा स्थानीय तहका ३५ वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाइएको छ । यो चरणको पहिलो प्राथमिकतामा आज (मंगलवार) सम्म वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकामा खोप लगाइनेछ ।
जिल्लाका अन्य चार स्थानीय तह चौकुने, सिम्ता, गुर्भाकोट र पञ्चपुरीमा फागुन २६ देखि २८ सम्म खोप लगाइने कार्यतालिका छ । दोस्रो चरणमा सुर्खेतमा २४ हजार नौ सय ७६ जनालाई खोप दिने लक्ष्य लिइएको छ । यो चरणमा ज्येष्ठ नागरिकसँगै पहिलो चरणमा छुटेका र प्राथमिकताको आधारमा केही अरु नागरिकलाई पनि खोप दिइएको छ । सोमवार कणर्ाली प्रदेशसभा सदस्यहरूले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । कणर्ाली प्रदेश प्रमुख गोविन्दप्रसाद कनौली, प्रदेशसभाका सभामुुख राजबहादुर शाहीसहित अन्य प्रदेशसभा सदस्यहरूले खोप लगाएका हुन् ।
हिमाली भेगमा अभियान प्रभावित
कणर्ालीका हिमाली जिल्लाहरूमा भने ६५ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्धको खोप लगाउने अभियान प्रभावित भएको छ । आइतवार राति उच्च हिमाली क्षेत्रमा परेको हिमपातका कारण सोमवारको खोप अभियान अवरूद्ध भएको हो । हिउँ परेपछि हुम्ला, माथिल्लो डोल्पा र माथिल्लो मुगुमा खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।
सुरूको दिन आइतवार सबै जिल्लाका केन्द्रबाट खोप लगाइए पनि सोमवार अवरूद्ध भएको कणर्ाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिले माथिल्लो डोल्पाका मानिसहरू तल्लो डोल्पामा सरेकाले त्यहाँ त खोप नै लगाउन थालिएको छैन । हुम्लाको पूरै जिल्ला र माथिल्लो मुगुमा समेत हिउँले खोप कार्यक्रममा बाधा पुर्याएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले आइतवार एकै दिन कणर्ाली प्रदेशमा १० हजार आठ सय बढीले खोप लगाएका थिए । उनका अनुसार प्रदेशभर ६५ वर्षमाथिको जनसंख्या एक लाख सात हजार रहेको छ । दोस्रो चरणको खोप कणर्ालीमा ८० हजार डोज आएको छ । प्रदेशका १० वटा जिल्लामा दुई सय ८८ खोप केन्द्र तोकेर कोरोनाविरूद्धको खोप लगाउने काम भइरहेको छ ।
प्रकाशित मितिः २५ फाल्गुन २०७७, मंगलवार ०७:४४
साझा बिसौनी ।