पहिलो दिन चार हजार बढीले लगाए खोप

दोस्रो चरणको पहिलो प्राथमिकतामा परेकाहरूलाई आइतवारदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन सुरू गरिएको छ । पहिलो दिन सुर्खेतमा चार हजार बढीले खोप लगाएका छन् । यो चरणमा ६५ वर्षमाथिका सबैलाई खोप दिइने छ । आइतवार सुर्खेतमा ३५ वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप दिइएको हो ।

जिल्लाका पाँच वटा स्थानीय तहमा खोप कार्यक्रम सुरू गरिएको छ । बाँकी चार वटा पालिकामा फागुन २६ बाट दोस्रो चरणको खोप अभियान सुरू हुनेछ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुुख चेतननिधि वाग्लेले सुर्खेतमा पहिलो दिन चार हजार पाँच सय ७७ जनाले खोप लगाएको जानकारी दिए । उनले खोप कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जनाए । आइतवार वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकामा खोप लगाइएको छ । यी पालिकामा भोलि (मंगलवार) सम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

जिल्लाका अन्य चार स्थानीय तह चौकुने, सिम्ता, गुर्भाकोट र पञ्चपुरीमा फागुन २६ देखि २८ सम्म खोप लगाइने प्रमुख वाग्लेले बताए । यो चरणमा सुर्खेतमा २४ हजार नौ सय ७६ जनालाई खोप दिने लक्ष्य लिइएको छ ।

दोस्रो चरणको खोप अभियानमा कणर्ालीका एक लाख बढीलाई खोप लगाइँदै छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार एक लाख सात हजारलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । जसका लागि प्रदेश भर एक सय ८८ खोप केन्द्र निर्धारण गरिएको छ । यसअघि पहिलो चरणको पहिलो र दोस्रो प्राथमिकतामा परेका कणर्ालीका करिब २७ हजारले खोप लगाइसकेका छन् । प्रदेशमा अहिलेसम्म सात हजार पाँच सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सात हजार तीन सय ८९ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७७, सोमबार ०९:२९