विभेदविरुद्धको लडाइँ

इस्वी सम्वत् अनुसारको मार्च ८ लाई हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा सम्झना गरिन्छ । यसलाई कसैले महिला दिवस वा कसैले नारी दिवसको रूपमा चर्चा र उल्लेख गर्ने गर्दछन् । यद्यपि समग्रमा यो श्रमिक महिलाहरूले आफ्नो अधिकार रक्षार्थ संघर्ष गरेको दिनको सम्झनामा मनाइने दिवस हो । जसलाई आज महिला मुक्ति आन्दोलनको एक विशेष दिनका रूपमा मनाउने गरिन्छ । असमानताविरुद्धको संघर्षको रूपमा अपनाउने गरिएको छ । महिला आन्दोलनको उठानविन्दुको रूपमा लिने गरिन्छ ।

मानव जगतका दुई अभिन्न पक्ष हुन् महिला र पुरुष । मानव विकासको सुरुवात पुरुष र महिला दुवैको समान अस्तित्वबाट भएको पाइन्छ । पुरुष र महिलाको समान अस्तित्वबाट परिवार र समाजको विकास हुन्छ । तर विश्वभर नै पुरुषभन्दा महिला हरेक अवसरहरूमा निकै पछि परेको स्थिति छ । जसका कारण परिवार र समाजबाट प्राप्त गर्ने विभिन्न अवसर तथा विकासका प्रतिफल ग्रहण गर्ने सवालमा महिला र पुरुषबीच समानता देखिदैंन । दुई पक्षबीचको विभेद भने आदिमकालदेखि नै स्थापित र संरक्षित हुँदै आएको देखिन्छ । विशेष गरेर पुरुष जातिले महिलाहरूमाथि शासन गर्दै आएका छन् । पुरुषसत्ता सधैं हावी हुने गरेको छ । महिलाहरू दोस्रो दर्जाको नागरिकका रूपमा सीमित भएको इतिहासदेखि वर्तमानले समेत देखाउँछ । सबै संरचनाहरूमा महिलाहरूको समान पहुँच र उपस्थिति छैन । विभेद र हिंसाको श्रृंखलावद्ध सिकार महिलाहरू भइरहेका छन् । समय धेरै अघि बढिसकेको छ । विकास र विज्ञानले लामो फड्को मारिसकेको छ । समाज र चेतना रूपान्तरणको क्रममा ठूलो अन्तर आइसकेको छ । तर पनि महिला र पुरुषबीचको विभेद अन्त्य हुन सकेको छैन । पुरुष शासक र महिला शासित वर्गको रूपमा रहनुपर्ने बाध्यता छ । आजको समयमा यो नै विडम्बना र लज्जाको विषय हो ।

सबैखाले सत्ता-संरचनामा पुरुषको हालिमुहाली छ । समान श्रममा प्राप्त हुने पारिश्रमिकमा पनि महिलाहरू विभेदको सिकार भएका छन् भने पुरुषहरू हावी हुने गरेका छन् । पुरुष सरह समान काम गर्दा पनि महिलाहरूले कम ज्याला पाउने गरेका छन् । उस्तै काम गर्दा पुरुषले पाँच सय पाउँदा मलाई चार सय मात्र दिइन्छ । परिवारको गुजरा चलाउन असमान ज्यालामा पनि काम गर्न बाध्य हुनुपरिरहेको छ । महिलाहरूको श्रम मात्र शोषण भएको छैन उनीहरू समाजले गर्ने अनेकखालका हिंसाबाट पीडित हुँदै आएका छन् । महिला र पुरुषबीचको यो ठूलो खाडल पुर्नका लागि पटक-पटक संघर्ष पनि नभएका होइनन् । तर समस्या समाधान हुन सकेको छैन । आजको समयले यी दुवै वर्गलाई समान बनाउने अपेक्षा राख्दछ । उनीहरूका अधिकार र भूमिकालाई परिवर्तन गरी समान बनाउने दायित्वबाट भाग्नु हुँदैन । कोशिसहरू जारी राख्नुपर्दछ । जसका लागि विभिन्न दिवसहरू अवसर हुन् । यस्ता अवसरलाई सदुपयोग गर्न भने जरुरी छ ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७७, सोमबार ०९:२१