मुर्ती चोरी भएपछि प्रहरी प्रशासन विरुद्ध आन्दोलन

जुल्लाको चन्दननाथ मन्दिरमा चोरी भएपछि स्थानीयबासी प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । प्रहरी र प्रशासनको छेउमै रहेको मन्दिरभित्रबाट बहुमूल्य मुर्ति चोरी भएपछि स्थानीयहरुले आन्दोलन थालेका हुन् ।

आइतबार बिहानैदेखि स्थानीयहरुले प्रशासन घेराउ गर्नुका साथै मुर्ति चोरलाई पत्ता नलगाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । मन्दिरमा रहेको भगवान दत्तात्रयको सात धार्नी चाँदी र तीनतोला भन्दा सुन जडित मुख्य मुर्तिसहित अन्य २८ वटा मुर्ति चोरिएका छन् । राती बाह्रबजेतिर मन्दिरमा चोरी भएको तर मन्दिरका पुजारी मौलेश्वर गिरीले करिब साढे एकबजेतिर खबर गरेको प्रहरीले बताएको छ ।

आइतबार विहानैदेखि स्थानीयहरु आक्रोशित भएपछि प्रहरीले मन्दिरका पुजारीलाई नियन्त्रणमा लिएको छ । यस्तै, मन्दिरको मुख्यद्वारको फलामे गेटको ताला फोडिएको तर भित्रको चाँदीको ढोकामा कुनै संकेत नदेखिएपछि प्रशासन, प्रहरी र पुजारीको मिलेमतोमा चोरी भएको स्थानीयले आशंका गरेका छन् । मन्दिरभित्र रहेका दुईवटा बहुमूल्य दाइने शंख, गौतम बुद्धकोे सुनको मुर्ति र अन्य धातुका स–साना मुर्ति चोरी भएका छन् ।

हिन्दु धर्मावलम्वीको प्रशिद्ध धार्मिक पर्यटकिय मन्दिरभित्रका मुर्ति चोरी भएपछि यहाँका सर्वसाधारणहरु सडक आन्दोलनमा उत्रिएका हुन् । जिल्लाको पहिचानको रुपमा रहेको मन्दिरको सुरक्षा गर्न प्रहरी असक्षम रहेको भन्दै चोरीको अनुसन्धान कार्य र मन्दिरको सुरक्षाको जिम्मेवारी सेनालाई दिनुपर्ने माग गरेका छन् । मन्दिरको दक्षितिर कारागार, २० मिटरको दुरीमा प्रशासन कार्यालय र मन्दिरको सुरक्षार्थ एकजना प्रहरी तैनाथ हुँदा पनि करोडौं मूल्य पर्ने मुर्ति चोरी भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको राजीनामा माग गरेका छन् ।

प्रशासनको अगाडि रहेको मन्दिर असुरक्षित भएपछि यहाँका विद्यार्थीहरु पनि सडकमा उत्रिएका छन् । अपराधिलाई छिटो पक्राउ गर्नका लागि दाबाव सिर्जना गर्न जिल्लामा रहेका सम्पूर्ण संस्थागत विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले चोरलाई पक्राउ गर्नका लागि जिल्लाबाट बाहिर प्रवेश गर्ने सम्पूर्ण नाकामा कडा निकगरानी थालेको छ । प्रहरीले विहान चोरी भएका मुर्तिहरुमध्ये एउटा सुनको टोपी नजिकैको नालामा भेटिएको छ ।

यस्तै, जिल्लाबाट बाहीर जाने यातायात पनि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख गुरुविष्णु काफ्लेले अनुसन्धान कार्य जारी रहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मन्दिर चोरी हुनु दःखद् भएको भन्दै सर्वदलिय वैठक बसिहेको र वैठकको निर्णय अनुसार अनुसन्धान कार्य अगाडि बढाउने जानकारी दिए ।

प्रकाशित मितिः   १२ मंसिर २०७३, आईतवार १३:४३