सहमति नजुटेपछि पुरानै प्रस्ताव सिफारिस

स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समिति रुकुमले जिल्लामा १० वटा स्थानीय तह बनाउने प्रस्ताव केन्द्रमा सिफारिस गरेको छ ।   स्थानीय तह पुनर्संरचना आयोगले कार्यविधि परिमार्जन गर्दै सोही अनुसार स्थानीय तह सिफारिस गर्न आग्रह गरेको थियो । रुकुमका राजनीतिक दलहरुले लामो समय खर्चिएर छलफल गरेपनि सहमति जुट्न नसकेपछि पुरानै प्रस्ताव पठाइएको हो ।

राजनीतिक दलका नेताहरुसँग पटक पटक छलफल गर्दा पनि आयोगले तोकेको ८ वटा स्थानीय तहमा सहमति नजुट्दा पुरानै प्रतिवेदन पठाएको स्थानीय विकास अधिकारी तथा स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक समितिका संयोजक नरेन्द्रकुमार राणाले जानकारी दिए । उनका अनुसार पठाइएको १० वटा स्थानीय तहको प्रस्ताव आयोगले फिर्ता गरेमा पुन छलफल गरिने छ ।

आयोगको सीमामा केन्द्रित रहेर यसअघि रुकुमका राजनीतिक दलहरुले गरेको सहमति फेरबदल गर्दा गाउँगाउँमा धेरै असन्तुष्टि र भौगोलिक रुपमा पनि नमिल्ने गुनासो आएपछि सहमति हुन नसकेको हो। जसका कारण पहिलो पटक गरिएको १० वटा स्थानीय तहको निर्णयमा २ वटा तह कुन घटाउने भन्ने लामो छलफलबाट पनि सहमति जुट्न नसकेको दलका नेताहरुले बताएका छन्।

आयोगले रुकुमलाई पहिलो पटक ६ वटा र दोस्रो पटक ८ वटासम्म स्थानीय तह बनाएर सिफारिस गर्न भनेको थियो।

 

प्रकाशित मितिः   १२ मंसिर २०७३, आईतवार ००:१०