नागरिकताविहिन गाउँमा घुम्ति शिविर, एक सय ६६ जनाले पाए नागरिकता

sibir

नागरिकता नहुँदा सुर्खेत मैनतडा निवासी विर्मा विकले निकै सास्ती ब्यहोर्नु पर्यो । नागरिकता नभएकै कारण स्थानीय उपभोक्ता समूह र आमा समूहमा बस्न पाइनन् । आफ्नै नागरिकता नभएपछि उनलाई छोराछोरीको नागरिकता बनाउन पनि मुश्किल भयो । तर, लामो प्रयासपछि विर्माले जब ४२ वर्षको उमेरमा आफ्नै दैलोमा नागरिकता पाइन्, तब उनका आँखा हर्षले रसाए । एउटा युद्ध नै जितेको अनुभूति भयो, खुशीको लामो श्वास फेरिन् ।

परिवारका सदस्यहरूसँगै मजदुरीका लागि भारतमा बस्ने र दशैंमा मात्र गाउँ फर्कने भएकाले उनले नागरिकता बनाएकी थिइनन् । छाक टार्न हम्मे–हम्मे हुने उनले गाडी भाडाकै अभावमा सदरमुकाम वीरेन्द्रनगरसम्म पुगेर नागरिकता बनाउन पनि सकिनन् । आर्थिक अभावकै कारण नागरिकता बनाउन नसकेकी उनलाई शनिवार जिल्ला प्रशासन कार्यालयले दैलोमै पुगेर नागरिकता उपलब्ध गराएको हो । उमेर ढक्लेपछि नागरिकता पाउँदा खुशी भएकी उनले भनिन्, ‘ठूलै युद्ध जिते जस्तो लाग्यो, बुढेसकालमा बल्लतल्ल नागरिकता पाइयो । मेरो नागरिकता नहुँदा छोराछोरीलाई पनि समस्या थियो, अब ढुक्क भएँ ।’

जिल्लाको भेरीगंगा नगरपालिका अन्तर्गत मैनतडामा दलित समुदायको बाहुल्यता छ । छाक टार्न मुश्किल हुने भएपछि यहाँका अधिकांश परिवार घरमा ताला नै लगाएर मजदुरीका लागि भारत जाने गर्दछन् । दशैंमा मात्र गाउँ आउने भएकाले अधिकांशको नागरिकता थिएन । गाउँ नै नागरिकताविहीन भएको समाचार साझा बिसौनीमा प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि प्रशासनले शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार नै शनिवार गाउँमै घुम्ती शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिएको हो । गाउँमै शिविर सञ्चालन भएपछि अधिकांश उमेर ढल्केका र बृद्धबृद्धाहरूले नागरिकता लिएका छन् । दैलोमै नागरिकता पाएपछि दङ्ग परेका गाउँलेले बुढेसकालमा आफ्नो नागरिकता मात्र बनाएनन्, आफ्ना सन्तानको पनि नागरिकता बनाइ दिएका हुन् । गाउँलेहरू मजदुरीबाट दशैंमा घरमा आएको मौका छोपेर स्थानीय प्रशासनले घुम्ती शिविर सञ्चालन गरेको हो ।

‘सानोमा नागरिकताको महत्व बुझिनँ, महत्व थाहा पाएपछि बनाउन सकिन’ ५१ वर्षको उमेरमा गाउँमै नागरिकता पाउँदा दङ्ग परेकी देवी पुनले भनिन्, ‘नागरिकता नहुँदा समूहमा पनि बस्न दिएनन्, सरकारले दिने भत्ता पनि पाउँन सकिन । धेरै पीडा भएको थियो, अब भने सजिलो हुने भयो ।’ आफ्नो नागरिकता नहुँदा छोराछोरीले पनि नागरिकता नपाएको सुनाउँदै उनले सदरमुकाम जाने भाडा नहुँदा हालसम्म आफूले नागरिकता नबनाएको बताइन् । बुढेसकालमा आँगनमै नागरिकता पाएकी उनले थपिन्, ‘ढिलै भए पनि नागरिकता पाइयो, जीवनको एउटा रहर पूरा भयो । अब बाँचे भने नागरिकता देखाएर भत्ता त पाउने भएँ, अब मलाई समूहमा बस्न कसले रोक्छ ?’ यस्तै ४७ वर्षको उमेरमा नागरिकता पाएपछि स्थानीय काशिराम मिजारले आफ्नो खुशी नै व्यक्त गर्न सकेनन् । नागरिकता पाउँदाको खुशी उनको अनुहारमा झल्कन्थ्यो । मजदुरीका लागि भारतमा बस्दै आएका उनले हालसम्म नागरिकता बनाएका थिएनन् । घरखर्च चलाउन कठिन भएपछि लामो समयसम्म भारतमा मजदुरी गर्दै बसेकाले पनि नागरिकता बनाउन नपाएको उनको भनाइ छ ।

उमेर ढल्केपछि नागरिकता पाउँदा खुशी भएका विर्मा, देवी र काशिराम त केबल प्रतिनिधि पात्र हुन् । छाक टार्नकै लागि परिवारसहित भारतमा मजदुरीका लागि जान बाध्य मैनतडाका एक सय ६६ जनाले शिविरमा नागरिकता लिएका छन् । नागरिकता नभएकै कारण स्थानीय बृद्धबृद्धाले ज्येष्ठ नागरिक भत्ता पाउन सकेका थिएनन् । यस्तै अभिभावक नै नागरिकताविहीन हुँदा उनीहरूका सन्तानले समेत सरकारी सेवामा वञ्चित हुनुपरेको थियो । अधिकांश पुरुषहरू भारतमा हुँदा नागरिकता नहुनुको पीडा महिलाहरूले बढी भोग्दै आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने, ‘आर्थिक अभावकै कारण धेरैले नागरिकता नबनाएको पाइयो, मजदुरीका लागि घरमा आएको मौका छोपेर हामीले गाउँमै शिविर राखेका हौं । सरकार जनताकै दैलोमा सेवा दिन तयार छ, हामीले पनि दैलोमै पुगेर नागरिकता बाँडेका छौं ।’ शिविरबाट गाउँलेले राहत महसुस गरेको भन्दै उनले कोही पनि नागरिकताबाट वञ्चित हुन नहुने बताए ।

शिविरमा नागरिकतासँगै स्थानीयलाई ज्येष्ठ नागरिक परिचय–पत्र, अपाङ्गता परिचय–पत्र र उन्नत जातका तरकारीका बीऊ वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार विजयनाथ भेदीले बताए । यस्तै शिविरमा गाउँलेको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै पशुको समेत उपचार गरिएको छ । गाउँमै घुम्ती शिविर बस्ने जानकारी पाएपछि स्थानीय बासिन्दा मजदुरीका लागि भारत नगइ कुरेर बसेका थिए । नागरिकता पाएपछि अब मजदुरीका लागि भारततर्फ लाग्ने उनीहरूको भनाइ छ । गाउँमा उत्पादन नहुँदा यहाँका अधिकांश परिवार छाक टार्ने उपाय खोज्न भारत जाने गर्दछन् ।