श्रमिकले चाल नपाउने श्रम दिवस

शान्ती शाही २३ वर्षकी भइन् । कालीकोटको शुभकालिका गाउँपालिका–८ की उनले पाँच कक्षा नपुग्दै पढाइ छोडिन् । उनी केही समययता वीरेन्द्रनगरमै बस्छिन् । श्रम गरेर गुजरा चलाउनु उनको दैनिकी हो । डोकोमा सिजनका फलफूल डुलाउँदै बेच्ने उनको व्यापार छ । बिहानै घरधन्दा सकेर उनको डोको व्यापारको ड्यूटी सुरू हुन्छ । ‘डोको व्यापारबाटै जेनतेन परिवार धानिएको छ,’ शान्ती भन्छिन्, ‘श्रीमान् पनि ज्याला मजदुरी गर्न भारत जानुभएको छ ।’

दिनभरी बजार डुलेर गरेको बिक्रीबाट आउने पैसाले बिहान बेलुकाको छाक टार्ने गरेको उनी बताउँछिन् । ‘श्रम नगरे खान पुग्दैन,’ उनी भन्छिन्, ‘सानो दुई वर्षको छोरालाई घरमा छोडेर आएकी हुँ ।’ दिनभरी डोकोमा फलफूल बेच्ने शान्तिलाई न कुनै चाडपर्वमा आराम हुन्छ न त कुनै दिवसहरूको थाहा नै ।

शान्तीजस्ता श्रमिक महिलाको हक अधिकारका लागि विश्वभर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहेका बेला उनले यसबारे आफूलाई केही थाहा नभएको बताइन् । ‘खरिद गरेर ल्याएको सामान कसरी कटाउने भन्ने चिन्ता हुन्छ । चाडवाड त राम्ररी मनाउन पाइँदैन के–को दिवस मनाउनु,’ उनले भनिन्,‘ दिवसमा नारा लगाएर हामीलाई नपुग्ने ।’ उनले अहिलेसम्म यस्ता खालका कार्यक्रममा कहिल्यै सहभागी नभएको पनि सुनाइन् ।

रम्बा तिरुवाको सडक छेउमा आरन व्यवसाय छ । वीरेन्द्रनगर नगरपालिका–९ घरभएकी उनी श्रीमान्सँगै दिनभर आरनमा काम गर्छिन् । शारीरिक अपाङ्गता भएकी रम्बालाई समेत महिला अधिकार र विभिन्न थरीका दिवसबारे कुनै जानकारी छैन । बिहान उठेदेखि साँझसम्म आगोको राप अगाडि बसेर फलाम पिट्ने बाहेकको अन्य अवसर उनले पाएकी छैनन् । ‘पढाइलेखाई पनि छैन,’ उनले भनिन्, ‘महिला दिवसको अवसरमा मनाइने कार्यक्रममा जान पढेलेखेको हुनुपर्छ होला ।’

शान्ति र रम्बा जस्तै कडा श्रम गर्ने अर्की महिला हुन्, वीरेन्द्रनगर–१० की पवित्रा चौधरी । उनी निर्माणका काममा मजदुरी गर्छिन् । उनको दैनिकी हो, बालुवा र इट्टा बोक्नु । दिनभरी मजदुरी गरेर खाने पवित्रा पनि कुनै दिवसबारे जानकारी हुँदैन । महिलालाई उचित काम र ज्याला दिनुपर्ने, महिलामाथि हुने जुनसुकै हिंसा रोक्नुपर्ने लगायतका मागसहित प्रत्येक वर्ष ब्यानर लिएर केही महिलाहरू सडकमा निस्कन्छन् । सहरी क्षेत्रका सुविधासम्पन्न होटलमा तामझामका साथ गोष्ठी हुन्छन् । सेमिनार गरिन्छन् । तर, दैनिक न्यून ज्यालामा श्रम गरेर खाने वर्गलाई भने यस्ता दिवस र अभियानले छुन सकेका छैनन् ।

पुरुष सरह समान काम गर्दा पनि महिलाहरूले कम ज्याला पाउने गरेका छन् । महिलाहरूको श्रम मात्र शोषण भएको छैन उनीहरू समाजले गर्ने अनेकखालका हिंसाबाट पीडित हुँदै आएका छन् । पवित्रा भन्छिन्, ‘उस्तै काम गर्दा पुरुषले पाँच सय पाउँदा मलाई चार सय मात्र दिइन्छ ।’ परिवारको गुजरा चलाउन असमान ज्यालामा पनि काम गर्न बाध्य भएको उनी बताउँछिन् ।

अधिकांश महिला आफूहरूका लागि मनाइने दिवस समेत थाहा पाउँदैनन् । यस्ता श्रमिक महिला गाउँदेखि सहरसम्मै छन् । उनीहरूलाई दिवसबारे कसैले जानकारी पनि गराएका छैनन् । आफ्नो क्षमता नभएकै कारण यस्तो कार्यक्रममा सहभागी नगराइएको होला भन्ने उनीहरूको बुझाइ छ ।

हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस यस वर्ष पनि विविध कार्यक्रम गरी साताव्यापी रूपमै मनाइँदै छ । यस्ता दिवसमा यस पटक पनि खास श्रम गर्ने महिलाहरूलाई भने सहभागी गराइएको छैन । उनीहरूका पीडा र मुद्दाका विषय यस्ता कार्यक्रमको प्राथमिकतामा पर्न सकेका छैनन् । जसका लागि भन्दै नारा तय गरिन्छ, उनीहरूलाई नै दिवसबारे जानकारी नहुनुले दिवसको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस, नारी दिवस वा श्रमिक महिला दिवस जे–जस्ता अभियान र कार्यक्रम गरे पनि उठ्ने सवाल महिला अधिकार, महिला सशक्तीकरण र समानतालगायतका हुन्छन् । त्यस्ता विषयले विकट बस्तीका निरक्षर महिलालाई छुदैनन् । कडा र जोखिमपूर्ण श्रम गरेर गुजरा चलाउने महिलाहरूका मुद्दा जहाँको त्यहीँ छन् । उचित श्रम र त्यसको सम्मान नपाएका उनीहरू सधै ओझेलमै छन् ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७७, आईतवार १२:१८