दोस्रो चरणको खोप आजदेखि
सुर्खेतमा ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ । ६५ वर्षमाथि उमेर समूहकाले नागरिकता वा आफ्नो परिचय खुल्ने जुनसुकै कागजात देखाएर पायक पर्ने केन्द्रबाट खोप लगाउन सक्नेछन् । कर्णालीमा यो चरणमा एक लाख बढीलाई खोप लगाइने छ ।
सरकारले आज (आइतवार)बाट देशभर कोरोना भाइरस ‐कोभिड–१९)विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने भएको छ । ६५ वर्षमाथिका र पहिलो चरणमा छुटेका फ्रन्टलाइनमा खटिनेहरूलाई यस चरणमा खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवारदेखि देशभर दैनिक दुई देखि तीन लाखसम्म नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन हुने भएको छ । देशभरका ६ हजार खोप केन्द्रबाट खोप लगाइने भएको हो ।
नेपालमा ६५ वर्षमाथिको संख्या १६ लाख रहेको मन्त्रालयको तथ्यांक छ । जसका लागि नेपालले भारतको सेरम इन्स्टिच्यूटबाट खरिद गरेको १० लाख डोज खोप केही दिनमा आउने जनाएको छ । यस्तै, कोभ्याक्स सुविधा अन्तर्गतको तीन लाख ४८ हजार खोप आज नै आइपुग्ने मन्त्रालयले जनाएको छ । सरकारले थप ५० लाख डोज खोप सेरमबाट खरिद गर्ने तयारीसमेत गरेको छ ।
दोस्रो चरणको अभियानमा कर्णालीमा एक लाख बढीलाई कोरोनाविरुद्धको खोप लगाइने छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार एक लाख सात हजार जनालाई खोप लगाउन लागिएको हो । यो संख्या अझै बढ्न सक्ने निर्देशनालयले जनाएको छ । पहिलो चरणमा कर्णालीमा २७ हजारले खोप लगाएका थिए ।
कोरोनाविरुद्धको खोप सुर्खेतमा पनि नागरिक तहमा दिइने भएको छ । आजदेखि ६५ वर्षमाथिका सबै नागरिक तथा पहिलो चरणमा छुटेका लक्षित वर्गलाई खोप दिइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालयअनुसार दोस्रो प्राथमिकताको खोप जिल्लामा दुई चरणमा लगाइने छ । पहिलो चरणमा फागुन २३ देखि २५ सम्म वीरेन्द्रनगर, लेकवेशी, भेरीगंगा, बराहताल र चिङ्गाडमा खोप अभियान सञ्चालन हुनेछ । फागुन २६ देखि २८ सम्म चौकुने, सिम्ता, गुर्भाकोट र पञ्चपुरीमा खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयको तयारी छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका नौ वटै स्थानीय तहका २४ हजार नौ सय ७६ जनालाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । यसअघि जिल्ला तथा प्रदेश अस्पतालहरूबाट मात्र दिइने गरिएको खोप अब भने यी अस्पतालसहित सबै स्वास्थ्य सेवा केन्द्रहरूबाट लगाइने छ ।
जिल्लाभर ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ भने दुई सय ५६ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । ६५ वर्षमाथि उमेर समूहका सबैले नागरिकता वा आफ्नो परिचय खुल्ने कागजात देखाएर पायक पर्ने केन्द्रबाट खोप लगाउन पाउने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सुर्खेतमा पहिलो प्राथमिकताको दुई चरणमा गरी हालसम्म सात हजार चार सय ७५ जनाले खोप लगाइसकेका छन् ।
प्रकाशित मितिः २३ फाल्गुन २०७७, आईतवार १२:१३
साझा बिसौनी ।