६५ वर्षमाथिका सबैलाई खोप

  • फागुन २३ देखि २५ सम्म वीरेन्द्रनगर, लेकवेशी, भेरीगंगा, बराहताल र चिङ्गाड
  • फागुन २६ देखि २८ सम्म चौकुने, सिम्ता, गुर्भाकोट र पञ्चपुरी

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नागरिक तहमा पनि दिइने भएको छ । यही फागुन २३ गतेदेखि ६५ वर्षमाथिका सबै नागरिक तथा पहिलो चरणमा छुटेका लक्षितवर्गलाई खोप दिइने भएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार दोस्रो प्राथमिकताको खोप जिल्लामा दुई चरणमा लगाइनेछ । पहिलो चरणमा फागुन २३ देखि २५ सम्म पाँच वटा स्थानीय तहमा खोप अभियान सञ्चालन गर्न लागिएको छ । उक्त चरणमा वीरेन्द्रनगर, लेकवेशी, भेरीगंगा, बराहताल र चिङ्गाडमा खोप लगाइनेछ । जिल्लाका अन्य चार स्थानीय तह चौकुने, सिम्ता, गुर्भाकोट र पञ्चपुरीमा फागुन २६ देखि २८ सम्म खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका नौ वटै स्थानीय तहका २४ हजार नौ सय ७६ जनालाई खोप दिने लक्ष्य लिइएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । यसअघि जिल्ला तथा प्रदेश अस्पतालहरूबाट मात्र दिइने गरिएको खोप अब भने यी अस्पतालसहित सबै स्वास्थ्य सेवा केन्द्रहरूबाट लगाइने भएको छ । जसका लागि जिल्लाभर ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ भने दुई सय ५६ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । खोप केन्द्रहरूमा उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी विशेषज्ञ चिकित्सकहरूका चार वटा टोली पनि परिचालन गरिने बताइएको छ । ५६ वर्षमाथि उमेर समूहका सबैले नागरिकता वा आफ्नो परिचय खुल्ने कागजात देखाएर पायक पर्ने केन्द्रबाट खोप लगाउन पाउने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सुर्खेतमा पहिलो प्राथमिकताको दुई चरणमा गरी हालसम्म सात हजार चार सय ७५ जनाले खोप लगाएका छन् । पहिलो प्राथमिकताको पहिलो चरणको खोप अभियान माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको थियो । यस चरणमा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिएका दुई हजार तीन सय ४० जना स्वास्थ्यकर्मीलगायतले खोप लगाएका हुन् । पहिलो प्राथमिकताकै दोस्रो चरणको अभियान फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको थियो । उक्त अभियानमा पाँच हजार एक सय ३५ जनाले खोप लगाएका थिए । यसअघिका दुवै चरणमा लक्षित वर्गका ७३ प्रतिशतले खोप लगाएको बताइएको छ ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७७, शुक्रबार ०८:४७