प्रेस संगठनको जिल्ला भेला

प्रेस संगठन नेपाल जिल्ला समिति सुर्खेतको भेला सम्पन्न भएको छ । संगठनले बुधवार वीरेन्द्रनगरमा जिल्ला भेला, स्वागत तथा सम्मान कार्यक्रम गरेको हो । भेलामा संगठनका जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वको सहभागिता रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रेस संगठन कर्णाली प्रदेश इञ्चार्ज वीरबहादुर गिरीले प्रेस संगठन श्रमजीवि तथा व्यावसायिक पत्रकारहरूको संगठन भएको बताए । पछिल्लो समय संगठनमा देखिएका समस्याबारे बोल्दै उनले भने, ‘एउटै नामबाट दुई वटा संगठन अघि बढ्नु दुखद् पक्ष हो । केही साथीहरू बाटो बिराएर अलमलमा हुनुहुन्छ । उहाँहरू पनि ढिलो–चाडो मूल संगठनमा फर्कनु हुनेछ ।’ पत्रकारको पेसागत सुरक्षा तथा समग्र सञ्चार क्षेत्रको विकास तथा प्रवद्र्धनमा प्रेस संगठन प्रतिबद्ध रहेको उनले जनाए ।

भेलाका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य ठम्मर विष्टले प्रेस संगठनमा आवद्ध पत्रकारहरू सिर्जनशील र जनताको आवाज बन्नुपर्ने बताए । विष्टले व्यावसायिक र मर्यादित पत्रकारिताबाट कत्ति पनि विचलित नहुन सम्बद्ध पत्रकारहरूलाई आग्रह गरे । ‘पेसागत सुरक्षाका लागि संगठित हुँदै व्यावसायिक पत्रकारिता गर्नुहोस् ।’ उनले सत्य र तथ्य समाचारबाट समाजलाई सुसूचित गर्ने संगठनका रूपमा प्रेस संगठन चिनिदै आएकाले त्यसको निरन्तरताका लागि जोड दिए ।

कर्णाली प्रदेशसभा सदस्य समेत रहेका उनले नेकपाको विवादको जड नै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भएको जिकिर गरे । नेकपाको आन्तरिक किचलोबारे उनले भने, ‘नेकपा पार्टी र भ्रातृ संगठनहरू सबै ओली पक्षकै आधिकारिक हुन् । यसमा कोही भ्रममा नपर्दा हुन्छ ।’

यस्तै, कार्यक्रममा अतिथि नेकपाका केन्द्रीय सदस्य कुलमणि देवकोटाले पत्रकारिताले समाजमा राम्रो प्रभाव पार्ने भएकोले व्यावसायिकतातर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सुर्खेतका पाका पत्रकार खडानन्द कँडेललाई सम्मान गएिको छ । पत्रिका बाजे भनेर समेत परिचित कँडेलललाई सुर्खेतको पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै संगठनले दोसल्ला ओढाएर सम्मान गरेको हो । भेलामा संगठनका प्रदेश सह–इञ्चार्ज विष्णु शर्मा, संयोजक नरेश भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमलगायतका अग्रज पत्रकारहरूले मन्तव्य राखेका थिए । भेलाले जिल्ला समितिलाई पूर्णता दिने लगायतका निर्णय पनि गरेको छ । प्रेस संगठन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुभेच्छुक पत्रकारहरूको संगठन हो ।

प्रकाशित मितिः   २० फाल्गुन २०७७, बिहीबार १२:०३