वडा नम्बर १० र ३ विजयी

वीरेन्द्रनगरमा बुधवारदेखि सुरू भएको मेयर तथा उपमेयर कप फुटबलमा वीरेन्द्रनगर–१० र ३ विजयी भएका छन् । मेयर कप प्रतियोगिताको पुरुष टिमतर्फ वडा नं. १० विजयी भएको हो भने महिलातर्फको उपमेयर कपमा वडा नं. ३ ले जित हात पारेको हो ।

मेयर कप प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १० ले विजयी सुरुवात गरेको हो । वीरेन्द्रनगरस्थित रंगशालामा भएको प्रतियोगितामा वडा नं. १० ले ३ लाई ३–१ गोल अन्तरले पराजित ग¥यो । समय अभावले ६० मिनेटमा झारिएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ मिनेटमा वडा नम्बर १० का सुशील राजकोटीले एक गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि १० नम्बर वडाकै लक्ष्मण शाहीले ५१ मिनेटमा एकगोल थप्दै खेललाई दुई शून्यमा पु¥याए । यस्तै खेलको ५९आंै मिनेटमा वडा नम्बर ३ का अनिल शाहले एकगोल फर्काए पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

खेलको ६०औ मिनेटमा रिगल गाहामगरले गोलगर्दै वडा नम्बर १० लाई ३–१ को जित दिलाए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडा नम्बर १० का विक्रम वली म्यान अफ द म्याच घोषित भएका छन् ।

यस्तै, महिला तर्फको उपमेयर कपमा वडा नम्बर ३ ले जित हात पारेको छ । उद्घाटन खेलमा वडा नं. ४ लाई २–० गोल अन्तरले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत आज ‐बिहीवार) पुरुषतर्फको मात्रै दुई खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना पुरुष र महिला खेलाडीलाई प्लेयर अफ द टुर्नामेन्ट घोषित गर्दै जनही १०/१० हजार उपलब्ध गराइने भएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा एन्फाका खेलाडी छनोटकर्ता विनोद तामाङले पुरस्कार दिने घोषणा गरेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग तथा सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा मेयर कपका लागि १२ वटा पुरुषको टिम र उपमेयर कपका लागि तीन वटा महिला टिम सहभागी भएका छन् । प्रतियोगिता नकआउट चरणमा सञ्चालन भइरहेको छ । दुवै टिमका विजेताले ३३ हजार तीन सय ३३ रूपैयाँ पुरस्कार पाउने छन् भने उपविजेताले २२ हजार दुई सय २२ रूपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   २० फाल्गुन २०७७, बिहीबार १२:०६