मेयर कप आजदेखि
विजेतालाई ३३ हजार तीन सय ३३ रूपैयाँ पुरस्कार
वीरेन्द्रनगरमा आज (बुधवार) देखि प्रथम मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग तथा सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । मंगलवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले जानकारी दिए । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा मेयर कपका लागि १२ वटा पुरुषको टिम र उपमेयर कपका लागि तीन वटा महिला टिम हुनेछन् ।
नकआउट चरणमा सञ्चालन हुने दुवै टिमका प्रतियोगिताको विजेताले ३३ हजार तीन सय ३३ रूपैयाँ पुरस्कार पाउने छन् भने उपविजेताले २२ हजार दुई सय २२ रूपैयाँ पाउने छन् । प्रतियोगिता वीरेन्द्रनगरको नवनिर्मित रंगशालामा दिउँसो ३ बजेटबाट सुरू हुनेछ । पहिलो खेल वडा नंं. १० र वडा नंंं. ३ बीच हुने बताइएको छ ।
उत्कृष्ट टिम व्यस्थापक, टिम कोच र खेल समाचारको रिपोर्टिङ्ग गर्ने पत्रकारलाई पनि सम्मान गरिने बताइएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले लामो समयको अन्तरालमा वीरेन्द्रनगरले फुटबल प्रतियोगिता आयोजना गरेर खेलकुद गतिविधिलाई अघि बढाएको बताए । आगामी वर्षदेखि प्रतियोगिताको राशीसमेत बढाउने प्रतिबद्धता उनले जनाए । कोरोना माहामारीले लामो समयदेखि बन्द रहेका खेलकुद गतिविधिले विस्तारै गति लिन थालेका छन् ।
प्रकाशित मितिः १९ फाल्गुन २०७७, बुधबार ०९:२०
साझा बिसौनी ।