विप्लव समूहका दुई हजार बढी पक्राउ

प्रतिबन्ध लगाएको दुई वर्ष पुग्नै लाग्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताको तयारी थालेको छ । वार्तासँगै सो समूहमाथि लगाइएको प्रतिबन्ध पनि फुकुवा हुने सरकारी पक्षले जनाएको छ । वार्ताका लागि सरकार र विप्लव समूहले मंगलवार आ–आफ्नो तर्फबाट वार्ता टोली पनि घोषणा गरिसकेका छन् ।

कर्णाली प्रदेशमा मात्र एक सय ५७ जना पक्राउ परेका थिए । तीमध्ये सात जना कारागार चलान भएका छन् ।

वार्ता हुने भएसँगै सरकारले विप्लव नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । प्रतिबन्ध लगाएपछि विप्लवका उच्च नेतासहित दुई हजार बढी पक्राउ परेका थिए । ती मध्ये एक सय २६ जना पुर्पक्षका लागि कारागारमा छन् । अन्य २० जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ । कर्णाली प्रदेशमा मात्र एक सय ५७ जना पक्राउ परेका थिए । तीमध्ये सात जना कारागार चलान भएका छन् ।

थुनामा रहेकामध्ये हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला सो पार्टीका ठूला नेता हुन् । वली पुर्पक्षका लागि थुनामा छन् भने बास्तोलालाई विभिन्न जिल्लामा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी पनि हिरासतमा छन् । वार्ता समितिका संयोजक समेत रहेका खड्गबहादुर विश्वकर्मालाई पनि यसअघि विभिन्न जिल्लामा लामो समय थुनामा राखेर छाडिएको हो ।

सर्वसाधारणको ज्यान लिनेगरी ललितपुरको नख्खुस्थित टेलिकम कम्पनी एनसेलको मुख्यालयमा बम बिस्फोट गराएपछि सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक तथा आतंककारी गतिविधि गरेको आरोपमा २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाएयता उक्त पार्टीका दुई हजार १५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । तीमध्ये ८५ जनालाई सामान्य सोधपुछ गरी छाडिएको छ । प्रतिबन्ध लगाउनुभन्दा पहिले पनि फागुन १० गतेबाट विप्लवका कार्यकर्ता पक्राउ परेका थिए ।

फागुन १० गतेदेखि २८ गतेसम्ममा ८५ जना पक्राउ परेका थिए । तीमध्ये तीन जनालाई थुनामा राखिए पनि बाँकीलाई अनुसन्धानपछि छाडिएको थियो । प्रतिबन्धपछि दुई हजार १३ जना पक्राउ परेका थिए । तीमध्ये विप्लवका विभिन्न तहका एक सय २३ जना नेता पुर्पक्षका लागि कारागारमा छन् । १८ जनामाथि अनुसन्धान भइरहेको र एक हजार आठ सय जनाविरुद्ध मुद्दा दर्ता गरिए पनि अदालतको आदेशमा उनीहरू छुटेका छन् । पक्राउ परेका ९० जनालाई भने सोधपुछपछि छाडिएको छ । दुई हजारभन्दा बढी नेता कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरेपनि विप्लवका नेता कार्यकर्ता जोडिएका कुनै पनि मुद्दाको फैसला भने भएको छैन । विप्लवका नेता कार्यकर्तालाई कर्तव्य ज्यान, विस्फोटक पदार्थसम्बन्धी, राज्यविरुद्धको कसुर, संगठित अपराधलगायत मुद्दा लगाइएको छ ।

वार्ता गर्न समिति

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहबीच वार्ता हुने भएको छ । औपचारिक संवादका लागि दुवै पक्षले मंगलवार समिति गठन गरेका छन् । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीका अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

यस्तै, सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

प्रकाशित मितिः   १९ फाल्गुन २०७७, बुधबार ०९:१६