तत्कालीन विकल्प

गर्मीयाम सुरु हुँदैछ । गर्मीसँगै सुर्खेत उपत्यकामा खानेपानीको समस्या सुरु हुन्छ । उपत्यकामा खानेपानीको पर्याप्त स्रोत छैन । इनारको पानी एउटा विकल्प हो भने त्यसबाहेक झुप्राखोला र केही सहायक खोलाहरूबाट ल्याइएको पानी नै खानेपानी उपलब्ध गराउने मुख्य स्रोत हो । तर यो पर्याप्त छैन । विशेष गरेर गर्मी मौसममा पानीको समस्याले सधैँ सताउँछ । यो समयमा एकातर्फ पानीको स्रोत घटेको हुन्छ भने अर्कोतर्फ सबैभन्दा बढी पानीको खपत हुने मौसम यही हो । जसका कारण खानेपानीको संकट चुलिने गरेको छ । उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार पानी पु¥याउन सकेको छैन । संस्थाले हाल झुप्राखोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गरिँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताका धारामा आलोपालो प्रणालीबाट पानी वितरण हुँदै आएको छ ।

गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । जसका कारण उक्त सिजनमा ९६ घण्टाको पालो लगाएर पानी वितरण गर्ने गरिएको छ । उपत्यकामा एक सय ५७ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति हुने गरेको छ । पानीको माग भने आपूर्तिभन्दा दोब्बरले बढी छ । उपत्यकामा अहिले दुई सय ५७ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । वीरेन्द्रनगरमा बर्सेनि आठ सयदेखि एक हजारसम्म घरधुरी थपिने गरेका छन् । वीरेन्द्रनगरमा हाल १८ हजार आठ सय ५० धाराहरूमार्फत पानी वितरण हुँदै आएको छ । पानीका सीमित स्रोत तथा संकलन र प्रशोधनका लागि आवश्यक संरचनाको समेत कमी हुँदा पानीको संकट बर्सेनि चुलिने गरेको हो । समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना अपरिहार्य हुन्छ । यसका लागि प्रयास पनि भइरहेका छन् । पछिल्लो समय अल्पकालीन समस्या समाधानका लागि पानीको संकलन गरी आपूर्ति क्षमता बढाउन अहिले वीरेन्द्रनगरका विभिन्न स्थानमा संरचनाहरू निर्माणको काम थालिएको छ । सरकारी तथा गैरसरकारी निकायले वीरेन्द्रनगरमा अन्डरग्राउण्ड वाटर रिजर्भ र ओभरहेड वाटर ट्याङ्कीहरू निर्माण कार्य थालेका हुन् । वीरेन्द्रनगर उपत्यकाका तीन वटा स्थानमा झण्डै दुई लाख ५० हजार लिटर क्षमताका तीन वटा रिजर्भ ट्याङ्की निर्माण गर्न लागिएको हो । अति विपन्न र पानीको चरम अभाव भएका बस्तीहरूलाई लक्षित गरी खानेपानीका संरचना बनाउन थालिएको छ ।

राजधानीको बढ्दो जनसंख्यालाई मध्यनजर गरी खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगरमा ल्याउने आयोजनाको काम पनि अघि बढेको छ । त्यसका लागि केही वर्ष लाग्ने देखिन्छ । यद्यपि यहाँको खानेपानी समस्या समाधानको दीर्घकालीन विकल्प नै त्यही हो । उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने भन्दा अर्को विकल्प अहिले छैन । तर तत्कालको खानेपानी संकट टार्न रिजर्भ ट्याङकीहरू निर्माण योजना सकारात्मक कदम हुन् ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७७, सोमबार ०६:००