खानेपानी संकट टार्न संरचना

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानीको अभाव छ । पानीका सीमित स्रोत तथा संकलन र प्रशोधनका लागि आवश्यक संरचनाको समेत कमी हुँदा पानीको संकट बर्सेनि चुलिँदै गएको छ । अल्पकालीन समस्या समाधानका लागि पानीको संकलन गरी आपूर्ति क्षमता बढाउन अहिले वीरेन्द्रनगरका विभिन्न स्थानमा संरचनाहरू निर्माणको काम थालिएको छ । सरकारी तथा गैरसरकारी निकायले वीरेन्द्रनगरमा अन्डरग्राउण्ड वाटर रिजर्भ र ओभरहेड वाटर ट्याङ्कीहरू निर्माण कार्य थालेका हुन् । वीरेन्द्रनगर उपत्यकाका तीन वटा स्थानमा झण्डै दुई लाख ५० हजार लिटर क्षमताका तीन वटा रिजर्भ ट्याङ्की निर्माण गर्न लागिएको हो ।

अति विपन्न र पानीको चरम अभाव भएका बस्तीहरूलाई लक्षित गरी खानेपानीका संरचना बनाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिका–१० को बेलघारीमा एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की बनाइँदै छ । जसको निर्माणका लागि शनिवार शिलान्यास गरिएको छ । खानेपानीको निकै अभाव रहेको उक्त ठाउँमा मुस्लिम समुदायको बाक्लो बस्ती छ ।

त्यस्तै, वीरेन्द्रनगर–१० कै घुस्रामा पनि एक लाख लिटर क्षमताको ट्याङ्की निर्माणको थालनी गरिएको छ । बुलबुले उद्यान नजिकै खुलाचौरमा करिब ६० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण भएको छ । सो स्थानमा समेत ओभरहेड ट्याङ्की निर्माणका लागि पहल थालिएको छ । रत्न राजमार्गदेखि दक्षिणका बस्तीहरूमा खानेपानी आपूर्ति गर्न संरचना निर्माणको काम अघि बढाइएको हो ।

बेलघारीमा निर्माण गर्न लागिएको ठूलो क्षमताको ओभरहेड ट्याङ्कीका लागि एइआइएन लक्जम्वर्ग नामक गैरसरकारी संस्थाले आर्थिक सहयोग गरेको छ । नवज्योति केन्द्र सुर्खेतको समन्वय तथा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था र वडा नं. १० को कार्यालयले यसमा सहकार्य गरेका छन् । ट्याङ्की ७२ लाख रूपैयाँको लागतमा निर्माण गर्न लागिको हो । त्यहाँबाट वीरेन्द्रनगर–१० का बेलघारी, पदमपुर, भानपुर, गणेशपुर र पशुपतिनगरमा खानेपानी वितरण गर्ने तयारी छ । पानी संकलनका लागि संरचना बनेपछि पाँच वटा बस्तीका करिब एक हजार परिवार लाभान्वित हुने आँकलन गरिएको नवज्योति केन्द्रका प्रमुख सिस्टर रोसिटाले बताइन् । पानी वितरणको जिम्मा भने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले लिएको छ । योजना एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १० को जनसेवा माध्यमिक विद्यालय घुस्रामा एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माणको प्रक्रिया अघि बढेको वडा अध्यक्ष रत्नबहादुर बुढाले बताए । उनका अनुसार योजनाको ठेक्का सम्झौता समेत भइसकेको छ । खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय सुर्खेतको एक करोड १५ लाख रकममा निर्माणको ठेक्का सम्झौता भएको हो । वडा अध्यक्ष बुढाले बुलबुले उद्यानमा तत्कालको लागि ६० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण भइ काँक्रेविहारमा आसपासका क्षेत्रमा वितरण थालिएको बताए ।

खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय सुर्खेतका प्रमुख श्रीधर भट्टराईले घुस्रामा बन्दै गरेको ट्याङ्कीको एक वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएको जनाए । उक्त ट्याङ्कीमा बोरिङबाट तानिएको पानीलाई संकलन गरिनेछ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले राजधानीको बढ्दो जनसंख्यालाई मध्यनजर गरी खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि झण्डै आठ अर्बको आयोजना अघि बढेको बताए । ‘भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगरमा ल्याउने आयोजनाको काम अघि बढेको छ । त्यसका लागि केही वर्ष लाग्ने देखिन्छ,’ उनले भने । उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने भन्दा अर्को विकल्प नभएको उनी बताउँछन् । तत्कालको खानेपानी संकट टार्न रिजर्भ ट्याङकीहरू निर्माण भइरहेको देवकोटाले बताए । ती ट्याङ्कीमा बोरिङ्बाट तानिएको र पर्याप्त पानी भएको समयमा संस्थाकै लाइनबाट समेत जम्मा गरिनेछ । त्यसरी संकलन गरिएको पानी अभावको बेला वितरण गर्ने उद्देश्य लिइएको छ ।

डेढ लाख हाराहारी जनसंख्या रहेको वीरेन्द्रनगर उपत्यका प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनघनत्वका कारण पानीको समस्या छ । उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मागअनुसार पानी पु¥याउन सकेको छैन । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएकोपानी वितरण गरिँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताका धारामा आलोपालो प्रणालीबाट पानी वितरण हुँदै आएको छ । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । जसका कारण उक्त सिजनमा ९६ घण्टाको पालो लगाएर पानी वितरण गर्ने गरिएको छ ।

उपत्यकामा एक सय ५७ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति हुने गरेको छ । पानीको माग भने आपूर्तिभन्दा दोब्बरले बढी छ । उपत्यकामा अहिले दुई सय ५७ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । वीरेन्द्रनगरमा बर्सेनि आठ सयदेखि एक हजारसम्म घरधुरी थपिने गरेका छन् । वीरेन्द्रनगरमा हाल १८ हजार आठ सय ५० धाराहरूमार्फत पानी वितरण हुँदै आएको छ ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७७, आईतवार ०९:११