खाद्य उद्योगमा सिल

मापदण्ड विपरीत सञ्चालन भएका दुई वटा खाद्य उद्योगमा शिलबन्दी गरिएको छ । उद्योग सञ्चालनको अनुज्ञा पत्र नै नलिएका उद्योगमा संयुक्त अनुगमन टोलीले सिल गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका प्रतिनिधिको संयुक्त अनुगमन टोलीले अवैध रूपमा सञ्चालित उद्योगमा सिल गरेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले वीरेन्द्रनगर–६ मा रहेको पूजा खाद्य उद्योग र वीरेन्द्रनगर–४ को विशाल चक्लेट उद्योग शिलबन्दी गरिएको बताए । पटक–पटक अनुगमन गरेर निर्देशन दिँदा पनि बेवास्ता गरेपछि शिलबन्दी गरिएको उनले जनाए । ‘खाद्य उद्योग सञ्चालनका लागि अनुज्ञा पत्र अनिवार्य चाहिन्छ । उत्पादन गरेको वस्तुको गुणस्तर कस्तो छ भनेर परीक्षण हुुनुपर्छ । तर, हामीले बारम्बार निर्देशन दिँदा पनि अटेर गरेपछि शिलबन्दी गरेका हौं,’ उनले भने । अनुज्ञा पत्र नल्याएसम्म ती उद्योगहरू सिल हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । सेवाग्राहीबाट बजारमा देखिएका बेथितिबारे गुनासा बढ्न थालेपछि पछिल्लो संयुक्त अनुगमन टोलीले बजार अनुगमनलाई तीव्रता दिएको बताइएको छ ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७७, आईतवार ०८:३३