प्रेस युनियनको प्रदेशस्तरीय भेला

नेपाल प्रेस युनियनले प्रदेश भेला सम्पन्न गरेको छ । युनियनले शनिवार वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय भेला गरेको हो । भेलामा युनियन बलियो बनाउनका लागि व्यक्तिगत स्वार्थ र गुटगत प्रवृत्ति त्याग्न आवश्यक रहेको औँल्याइएको छ । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गर्दै युनियनले भेलाको आयोजना गरेको हो । प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक पत्रकारहरूको संगठन हो ।

प्रेस युनियन सुर्खेतको समन्वयमा भएको भेलामा प्रेस युनियनका सल्लाहकार एवम् पूर्व महासचिव शिव लम्सालले संगठनको हितका लागि यस्ता भेला र छलफल आवश्यक हुने बताए । उनले व्यक्तिगत स्वार्थ त्यागेर संगठनको काममा लाग्न सुझाए । आगामी पत्रकार महासंघ र अकोराबको निर्वाचनमा प्रजातान्त्रिक पक्षधरहरूको पकड बनाउनका लागि प्रेस युनियन एक ढिक्का हुनुपर्ने उनको भनाइ थियो ।

सल्लाहकार लम्सालले महासंघ जिल्ला र प्रदेशको उम्मेदवारको टुङ्गो लगाउने जिम्मा केन्द्र मात्र नभएको बताए । जिल्लाले जिल्ला, प्रदेशले प्रदेश र केन्द्रले केन्द्रीय उम्मेवारको टुङ्गो लगाउनुपर्ने उनले जिकिर थियो । आगामी दिनमा पत्रकारको नेता पत्रकारले नै छान्नुपर्ने वातावरण बनाउन सबैपक्षसँग उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखे्रल, प्रेस युनियनका केन्द्रीय सचिव खिला कार्की, युनियनका केन्द्रीय सदस्य राजेन्द्र कार्की, युवराज रेग्मी, खगेन्द्र भट्टराईलगायतले भेलामा आ–आफ्नो भनाइ राखेका थिए । प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापाको अध्यक्षतामा भएको भेलामा कालीकोट, सल्यान, रुकुम–पश्चिम, जाजरकोटका सहभागी अध्यक्ष तथा प्रतिनिधिहरूले युनियनको जिल्लागत अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७७, आईतवार ०८:३२