साइकल चढ्ने विद्यार्थीलाई मासिक शुल्कमा छुट

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित सिद्धपाइला क्याम्पसले विद्यार्थीलाई साइकल चढ्न प्रोत्साहन गरेको छ । क्याम्पस प्रशासनले साइकल चढेर आउने विद्यार्थीलाई मासिक शुल्कमा छुट दिने भएको हो । साइकल चढेर क्याम्पस–घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट दिइने क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले बताए ।

साढे चार सय विद्यार्थी अध्ययनरत सिद्धपाइलामा हाल साइकल चढ्ने न्यून छन् । क्याम्पसबाट नियमित साइकल चढ्ने पाँच जना विद्यार्थीले मासिक शुल्कमा सहुलियत पाइसकेका छन् । क्याम्पस प्रशासनले साइकल चढ्ने बहुउपयोगी नीति ल्याएको हो ।

पर्यावरण र स्वास्थ्यमा विद्यार्थीको ध्यान जाओस् भनेर यस्तो अभियान थालिएको क्याम्पस प्रमुख सुवेदी बताउँछन् । उनका अनुसार यो छात्रवृत्ति दिनलाई मात्र नभएर साइकल चढ्न प्रोत्साहन गर्ने अभियान हो । विद्यार्थीहरूले हरेक दिन साइकल चढेर क्याम्पस आवतजावत गरेमा मासिक शुल्कमा छुट पाउनेछन् ।

विद्यार्थीको शारीरिक तथा मानसिक तन्दुरुस्तीसँगै वातावरण प्रदूषण कम गर्न यो अभियानले सहयोग पुग्ने क्याम्पस प्रशासनले जनाएको छ । साइकल चढ्दा मोटसाइकल जस्ता सवारी साधनमा हुने इन्धन खर्च जोगिने र दुर्घटनामा समेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७७, शनिबार १०:४५