कर्णालीमा जोलोजिकल सेमिनार

कर्णाली प्रदेशमा पहिलो पटक जोलोजिकल सेमिनार भएको छ । नेपाल जोलोजिकल सोसाइटी कर्णाली प्रदेशको आयोजनामा बिहीवार कार्यक्रम सम्पन्न गरिएको हो ।
सेमिनारमा विश्वविद्यालय तथा उच्च माध्यमिक तहमा जोलोजी र जीव विज्ञान अध्ययनरत विद्यार्थी तथा प्राणी अनुसन्धानमा संलग्न करिब ७० जना अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तीन वटा वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएको हो । कार्यक्रमका संयोजक तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक डा. पुष्पराज आचार्य, प्रतापराज थानी र वीरेन्द्र शाहीले कार्यपत्र प्रस्तुत गरेका हुन् । कार्यपत्र प्रस्तुत गर्दै डा. आचार्यले उच्च हिमाली भू–भाग र त्यहाँ पाइने जीवहरूको संरक्षण गर्नुपर्ने औंल्याए । प्रदेशमा जलवायु परिवर्तनका असर देखिन थालेकाले सचेत हुनपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्यानल छलफलसमेत गरिएको थियो । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाही, नेपाल जोलोजिकल सोसाइटीका केन्द्रीय महासचिव तथा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. हरिप्रसाद शर्मा र कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रशासन तथा योजना माहाशाखा प्रमुख शेरबहादुर श्रेष्ठले उक्त सेसनमा भाग लिएका थिए ।
कार्यक्रमको सभापतित्व गरेका प्रा.डा. महेन्द्र महर्जनले नेपाल जोलोजिकल सोसाइटीले कर्णालीका जैविक स्रोतहरूको अनुसन्धानमा योगदान गरी मन्त्रालयको नीति निर्माणमा सहकार्य गर्न सके धेरै समस्याहरू हल हुने धारणा राखेका थिए ।
सेमिनारले आगामी दिनमा कर्णालीमा संस्थागत अनुसन्धान गर्न र नीति निर्माण गर्नका लागि नेपाल जोलोजिकल सोसाइटीको कर्णाली प्रदेशस्तरीय उपसमिति समेत गठन गरेको छ । उक्त सात सदस्यीय नेपाल जोलोजिकल सोसाइटीको अध्यक्षमा पदमराज जोशी, उपाध्यक्षमा गंगा शाह, महासचिवमा ओमप्रकाश न्यौपाने, सचिवमा नेत्रप्रसाद न्यौपाने, कोषाध्यक्ष रुपलाल ढकाल तथा सदस्यमा रुपबहादुर साउद र धर्मराज थापा रहेका छन् । सेमिनार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रकाशित मितिः १५ फाल्गुन २०७७, शनिबार १०:४१
साझा बिसौनी ।