बोनम्यारो पीडितलाई एक लाख सहयोग

ठकुरी एकता समाज नेपालले बोनम्यारो पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाई गाउँपालिका–२ रुम दैलेखका ११ वर्षीय सुनील शाहीको उपचारका लागि समाजले नगद एक लाख एक हजार एक सय रूपैयाँ प्रदान गरेको हो ।

शाहीको उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि समाजका सदस्यहरूबाट आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरिएको हो । बिरामीको हजुरबुवा रामबहादुर शाहीलाई शुक्रवार रकम हस्तान्तरण गरिएको सहयोग संकलन अभियानका संयोजक एवम् ठकुरी एकता समाज नेपालका महासचिव विपेन्द्रविक्रम शाहले जानकारी दिए ।

शाहकै अध्यक्षता एवम् समाजका प्रमुख सल्लाहकार गोविन्दबहादुर मल्लको प्रमुख आतिथ्यतामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि मल्लले उक्त अवसरमा आर्थिक अभावकै कारण कसैले उपचारबाट वञ्चित हुनु नपरोस् भनेर रकम संकलन गरेर सहयोग गरिएको बताए ।

कार्यक्रममा समाजका उपाध्यक्ष रामबहादुर शाही, कर्णाली प्रदेश समिति सदस्य लोकबहादुर शाही, केन्द्रीय कार्यालय सचिव हिक्मतबहादुर मल्ल, जिल्ला अध्यक्ष शेरबहादुर सिंह, वीरेन्द्रनगर नगर समिति अध्यक्ष नन्दबहादुर चन्द, नगर सचिवालय सदस्य विक्रम शाही लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७७, शनिबार १०:३५