आन्दोलन चर्काउने चेतावनी
खेतीयोग्य जमिनको माग राख्दै आन्दोलित भएका वादी समुदायले आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् । माग सुनुवाइ नभएपछि कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका हुन् । शुक्रवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेरै आफ्ना माग राखेका वादी समुदायका अगुवाहरूले चित्त बुझ्दो जवाफ नपाएपछि आन्दोलनलाई थप चर्काउने बताएका छन् ।
मुख्यमन्त्रीले जग्गा दिने अधिकार प्रदेश सरकारलाई नभएकोले दिन नसकिने बताएका थिए । मुख्यमन्त्री शाहीले अन्य कार्यक्रममार्फत वादी समुदायका समस्या हल गर्न पहल गर्ने बताएका हुन् । उनले वादी समुदायका लागि प्रदेश सरकारले आयआर्जन र आवास बनाउनेलगायतका कार्यक्रममा समेट्न सकिने बताए । तर वादी समुदायको माग खेतीयोग्य जमिन हो । खेती गर्ने जग्गा नपाउञ्जेल आन्दोलन जारी राख्ने अडानमा उनीहरू छन् ।
आन्दोलनका अगुवा हिक्मत वादीले मुख्यमन्त्रीले आफूहरूका माग पुरा गर्ने संकेत नदिएको बताए । ‘उहाँले हाम्रा मागप्रति गम्भीरता देखाउनु भएन । अब आन्दोलन थप सशक्त बनाएर लिन्छौं,’ उनले भने । पराम्परागत पेसा संकटमा परेपछि जीविकोपार्जनका लागि हात पाखुरा चलाउँछौं भन्दा पनि प्रदेश सरकार गम्भीर नभएको उनले बताए । सरकारले आफ्ना माग बेवास्ता गरेको उनको आरोप छ ।
‘मुख्यमन्त्रीले जग्गा दिने अधिकार प्रदेशसँग छैन भन्नुभयो । शिक्षा, स्वास्थ्य, आयआर्जनलगायतका अरु के गर्नुपर्छ बरु गर्छौं भन्ने कुरा आयो । तर हामीलाई गरेर खाने खेतीयोग्य जमिन चाहिएको छ । माग पुरा नभएसम्म हामी आन्दोलन छोड्दैनौं,’ उनले भने । सैयौंको संख्यामा एक सातादेखि मुख्यमन्त्री कार्यालयको अगाडि धर्नामा रहेका उनीहरूले प्रदेश सरकारले जग्गाको व्यवस्था नगरे वीरेन्द्रनगरभित्रै खाली रहेको जग्गा कब्जा गरेर बस्ने चेतावनी दिएका छन् । प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने वादी समुदायका सैयौं परिवार खेतीयोग्य जमिनको माग राखेर आन्दोलनरत छन् ।
यसैबीच, वादी समुदायले उठाएका मागप्रति अधिकारकर्मीहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नागरिक समाजका विभिन्न संघ–संगठनले वादी समुदाय खुल्ला आकाशमुनी कष्टकर दैनिकी बिताइरहेकोप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका हुन् । अनिश्चितकालीन धर्नामा बसेको उक्त समुदायलाई उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूले विज्ञप्तीमार्फत जनाएका छन् ।
प्रकाशित मितिः १५ फाल्गुन २०७७, शनिबार १०:५०
साझा बिसौनी ।