एन्फाले बाल खेलाडी छनोट गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले वीरेन्द्रनगरमा बाल खेलाडीहरू छनोट गर्ने भएको छ । ग्रासरुट फुटबल प्रशिक्षणमा रहेका बाल खेलाडीहरूको यही फागुन १८ र १९ गते छनोट गर्न लागिएको हो ।

हाल एन्फामा आवद्ध सुर्खेत र जुम्ला जिल्ला फुटबल संघ अन्तरगत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा रहेका १३ वर्ष मुनीका बाल खेलाडीको छनोट वीरेन्द्रनगरमा गर्न लागिएको एन्फाले जनाएको छ । प्रदेशस्तरीय छनोटका लागि जिल्लामा भएको प्रारम्भिक चरणबाट छानिएका सुर्खेतका २६ जना खेलाडीहरू दोस्रो चरणको छनोटमा परेका थिए ।

अब २६ मध्येबाट राष्ट्रियस्तरको खेलका लागि खेलाडी छनोट गरिने कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्कीले बताए । खेलाडी छनोट कार्यक्रम वीरेन्द्रनगरस्थित रंगशालामा गरिने छ । छनोटमा सहभागी हुने खेलाडीले २०६५ पुस १५ देखि २०६६ पुस १४ को बीचमा जन्मिएको जन्मदर्ताको प्रमाण पेश गर्नुपर्नेछ ।

जिल्ला तह र प्रादेशिक तह हुँदै राष्ट्रिय छनोट पार गर्ने खेलाडीलाई एन्फाले आफ्ना टेक्निकल सेन्टरमा आवासीय रूपमा राखेर पठनपाठनको व्यवस्थासँगै फुटबल प्रशिक्षण दिइनेछ । बालबालिकालाई आठ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रमअनुसार सुर्खेतमा तीन वर्षअघिदेखि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा रहेको छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७७, शुक्रबार ०९:४२