निर्माण व्यवसायीद्वारा प्रशासनको ध्यानाकर्षण

सुर्खेतका निर्माण व्यवसायीहरूले स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । निर्माण सामग्रीमा रोक नलगाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ध्यानाकर्षण–पत्र बुझाइएको छ । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले सोमवार प्रशासनको ध्यानाकर्षण गरेको हो ।

व्यवसायीहरूले जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, पूर्वाधार विकास निर्देशनालय, डिभिजन सडक कार्यालय, वीरेन्द्रनगर नगरपालिका र संघीय आयोजना कार्यान्वनय इकाई कार्यालयलाई समेत बोधार्थ दिएका छन् । क्रसिङ्ग मेशिन सञ्चालन तुरुन्त बन्द गर्नु भनी जिल्ला प्रशासन कार्यालयबाट पत्राचार गरेपछि आफूहरूको गम्भीर ध्यानाकर्षण भएको निर्माण व्यवसायी एकता समाज सुर्खेतका अध्यक्ष जनकबहादुर रावलले बताए ।

व्यवसायीहरूले गिट्टी, बालुवा, ढुङ्गा, ग्राभेल, बेस, चिप्स लगायतका निर्माण सामग्रीहरू स्थानीय निकायसँग समन्वय गरी आईई गरिएको स्थानबाट उत्खनन् तथा उत्पादन गरी सम्बन्धित निकायको इजाजतमा आपूर्ति गरिरहेको भए पनि प्रशासनले उक्त कार्य रोक्न खोजेको ध्यानाकर्षण पत्रमा जनाइएको छ । संघीय तथा प्रदेश सरकारका विभिन्न योजनाहरू निर्धारित समयमै सक्नुपर्ने दबाब रहेका बेला प्रशासनको पछिल्लो निर्णयले आफूहरू थप मर्कामा परेको निर्माण व्यवसायीले बताएका छन् । राज्यको दोहोरो चरित्रले विकासे योजनाहरू समयमै सम्पन्न नहुने र जनता मारमा पर्ने गरेको आरोप उनीहरूको छ ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७७, मंगलवार ०९:०३