नदेखेरै मन पराएँ, देखेपछि माया बस्यो

lalअचम्म लाग्नसक्छ, कसैले कसैलाई नदेखिकनै मन परायो भन्दा । यद्यपि सुन्दा अचम्म लाग्ने कतिपय कुराहरू सत्य पनि हुन्छन् ।
जस्तो कि लालबहादुर खत्रीले शान्ता भण्डारीलाई देख्नुअघि नै मन पराए । शान्तालाई उनले देखेकै थिएनन् । तर उनको मनमा शान्ताको बास भइसकेको थियो । उनले मनमनै मन पराए । पछि उनैलाई आफ्नो जीवनसाथी बनाए । शान्तालाई आफूले नदेखे पनि लालबहादुरकी फुपुले उनको कुरा गरिरहन्थिन् । फुपुले शान्ताको बारेमा प्रशंसा गर्दा नै खत्रीले शान्ता मन पराइसकेका थिए । उनै शान्तालाई पछि गएर आफ्नो पनि बनाए ।

पिता जंगबहादुर खत्री र माता झुपा खत्रीको कोखबाट वि.सं. २०२३ सालमा जगनाथ गाविस–२ दैलेखमा जन्मिएका लालबहादुर खत्रीको बाल्यकाल सुखद् नै रह्यो । उनी विद्यालय जान्थे । फुर्सदमा घरको काम गर्थे । गाई बाख्रा चराउन गोठालो गएको सम्झना पनि छ उनलाई । बाल्यकालमा भट्ट भुटेर पोल्टामा राखेर गोठालो जान खुवै मन पराउँथे रे उनी । उनले विद्यालयमा पाइला भने अलि ढिलोगरी टेके । नौ वर्षको भइसकेपछि मात्रै उनी विद्यालय जान थालेका हुन् ।

एसएलसी पास गरेपछि उनले तीन वर्षसम्म कालिका निमावी दैलेखमा अध्यापन गराए । त्यसपछि उनी सरकारी सेवामा प्रवेश गरे । २०४७ सालमा लोकसेवा पास गरी जाजरकोटको मालपोत कार्यालयमा काम गरे । हुन त उनको बाल्यकालको सपना इण्डियन आर्मीमा भत्र्ती हुने थियो । तर, पस्थितिले उनलाई सरकारी जागिरे बनाइ दियो । उनी कक्षा १० मा पढ्दा नेपालगन्जमा प्रहरीमा जागिर पनि खाए । तर, उनलाई प्रहरीको जागिरले जीवनमा प्रहरीमा जतिको मेहेनत अन्य क्षेत्रमा गरे सफल भइन्छ भन्ने लागेर उनी प्रहरीमा भर्ना भएको सात दिनमा भागेर आए । र उनले लोकसेवालाई रोजे । नेपाल निजामती कर्मचारी सङ्गठन सुर्खेतका अध्यक्षको जिम्मेवारीमा रहेका खत्री मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा कार्यरत छन् ।

लालबहादुरको विवाहको कुरा उनकी फुपुले नै चलाएकी थिइन् । फुपुले विवाहको कुरा गरेपछि उनी केटी हेर्न गाउँको हजुरबुवा पर्नेलाई लगेर लाटीकोइली गएका थिए । खत्रीको फुपुले केटीको बारेमा सबै भनिरहँदा नै खत्रीलाई केटी राम्रो छिन् होला भन्ने मनमा लागेको थियो । खत्रीले हेर्न गएको केटी अरु कोही नभएर शान्ता थिइन् । शान्तालाई खत्रीले नदेखेरै मन पराइसकेका थिए । शान्ताको बारेमा आफ्नी फुपुले सबै कुरा भनिरहँदा नै खत्रीलाई शान्ता मन परिसकेकी थिइन् ।

खत्रीले शान्ताको बारेमा जति सुनेका थिए शान्तालाई देखेपछि उनलाई शान्ता झन मन परिन् । उनको तर्फबाट विवाहको कुरा पक्का नै भइसकेको थियो । बाँकी शान्ताको घरपरिवारको जवाफ आउन थियो । तर, शान्ताले भने खत्री आफूलाई हेर्न आएको कुरा थाहा पाएकी थिइनन् । घरपरिवारले विवाहको कुरा चलाएपछि मात्र उनलाई थाहा भयो । छोरी मान्छे घरपरिवारले केटा राम्रो छ सरकारी जागिर खाएको भनेर छोरीको विवाह गराइ दिन खोजेका थिए । शान्ताले पनि घरपरिवारको कुरा काट्न सकिनन् । उनी पनि विवाहको लागि राजी भइन् । शान्ता पनि विवाहको लागि राजी भएपछि उनीहरूको २०५५ सालमा मागी विवाह भयो ।

पिता नन्दवीर भण्डारी र माता सूर्यकला भण्डारीको कोखबाट २०२९ सालमा सुर्खेतको लाटीकोइलीमा जन्मिएकी शान्ताको बाल्यकाल पनि सखद्सँग नै बित्यो । उनी बाल्यकालदेखि नै घरको सम्पूर्ण काम गर्ने गर्थिन् । उनी बाल्यकालदेखि नै शान्त स्वभावकी थिइन् । कसैसँंग झगडा नगर्ने, घरको काममा नै समय बिताउने उनको स्वभाव थियो ।

विवाह पछि यो जोडीले एकआपसमा झगडा भने कहिल्यै गरेनन् । उनीहरू भन्छन्, ‘झगडा त एकआपसमा जब समझदारी र विश्वास हुँदैन तब पर्ने हो, हामीहरू एकअर्काेको सम्मान गर्छाैं, भावना र विश्वास गर्छाैं ।’ एकअर्काे प्रति जति विश्वास गर्छन् एकअर्काेको प्रशंसा पनि त्यति नै गर्छन् । खत्रीलाई शान्ताको कहिले नरिसाउने बानी मनपर्ने गर्छ । कहिले काही अलि बढी चिन्ता गर्ने बानी भने हटाइदिए हुन्थ्यो जस्तो लाग्छ खत्रीलाई । त्यस्तै शान्तालाई खत्रीको सानो सानो कुरामा ख्याल गर्ने, सन्चो विसञ्चोको ख्याल गर्ने बानी मनपर्ने गर्छ । शान्तालाई फुर्सद भएसम्म खत्रीले घरको काममा पनि सघाउने गर्छन् ।

विवाह पछि शान्तालाई लालबहादुरले दैलेख घरमा नै लगे । शान्ता त्यस अघि दैलेख कहिल्यै गएकी थिइनन् । उनलाई सुरु–सुरुमा त निकै गाह्रो पनि भयो । नचिनेको ठाउँ, नयाँ साइनो, नयाँ घर सबै बिरानो लाग्थ्यो शान्तालाई । अनेक चुनौतीको सामना गर्दै शान्ताले लालबहादुरलाई साथ दिइन् ।

सम्बन्ध सफल र दिगो बनाउनको लागि एकअर्काे बीचको कुरा शेयर हुन जरुरी हुन्छ । एकअर्काबीचमा विश्वास कायम गर्नसके मात्र दाम्पत्य जीवन सुखमय हुने उनीहरूको भनाइ छ । समझादारी र विश्वास नै सम्बन्ध स्थापित गर्ने सूत्र हुन् । जबसम्म एकअर्काेप्रतिको विश्वास कायम गर्न सकिदैंन तबसम्म सम्बन्धमा खटपट आइरहन्छ । सम्बन्ध दिगो बनाउनको लागि एकअर्काेको भावना बुझेर दुवैले दुवैको सम्मान गर्न जरुरी छ ।
उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको दुःख सुख बिसाउने चौतारी हो ।’ एकलाई परेको दुःखमा साथ दिने र जिन्दगी भरी त्यो साथ निभाउन सक्ने साथी नै जीवनसाथी हो । सात जुनीसम्म सँगै साथ दिने भनेर कसम खाने साथी नै जीवनसाथी हो । सुखमा मात्र होइन दुःखमा पनि साथ दिनसक्ने साथी नै जीवनसाथी हो । जुन निश्वार्थ रूपमा माया गर्ने, हरेक दुःख सुखमा साथ दिन सक्ने साथी नै जीवनसाथी हो ।

उनीहरू नवदम्पत्ती जोडीलाई पहिला एकअर्काेको भावना, घरपरिवारको रहनसहन सबै कुरा बुझेर र आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न आग्रह गर्छन् । विवाह भनेको दुई व्यक्तिबीचको मात्र नभएर दुई परिवार बीचको मिलन भएकाले एकअर्काेको घरपरिवारको सुखी पनि हेर्न जरुरी हुन्छ । आफ्नो सुखीको लागि घरपरिवारको सुखीलाई कुल्चिन नहुने उनीहरूको भनाइ छ । उनीहरू विवाह भनेको जीवनमा एकपटक मात्र गरिने भएकाले राम्रोसँग सोच विचार गरेर गर्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार अर्काेको देखासिकीले हतारमा विवाह गर्दा आफ्नो भविष्य नै बिग्रन सक्ने भएकाले अर्काेको देखासिकी भन्दा पनि आफ्नो भविष्यको लागि सोच विचार गरेर मात्र विवाह गर्नुपर्छ ।

समाजमा आफ्नो दाम्पत्य जीवनले अरुको लागि प्रेरणाको उदाहरण बन्नुपर्ने उनीहरूको भनाइ छ । यो जोडी दाम्पत्य जीवनमा एकअर्काेको सुख दुःखमा साथ दिने उदाहरणीय बनेको छ ।
(प्रस्तुतीः गीता शाही)

प्रकाशित मितिः   ११ मंसिर २०७३, शनिबार १४:०४