लगन
शुक्रवार बिहानै गाउँबाट बुबाको फोन आएको थियो । दुध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नु भएको रहेछ, बजारकै पीसीओबाट । बुबाको हातमा फोन थिएन । ल्याण्डलाइनबाट आउने प्रायः फोन बुबाकै हुन्थ्यो ।
बिहानको तिनै बजे नै उठ्ने बानी थियो उहाँको, जब घरमा भैंसी दुहुनो हुन्थ्यो ।
०००
मेरो हालखबर अनि पढाइ बारे सोध्नु भएको थियो । अन्त्यमा भन्नुभएको थियो,
‘भोलि शनिवार छ । सक्छस् भने आज साँझसम्म घर आइपुगेस्, एउटा जरुरी काम छ ।’
‘जरुरी काम ! के जरूरी काम थियो बुबा ?’
‘यतै आएस बसेरै कुरा गरौंला ।’
टुं…टुं… गर्दै फोन काटियो ।
मैलेप्रति प्रश्न गर्नै पाइनँ ।
०००
मलाई पनि घर पुग्ने अत्यासले छोएको थियो । घर नगएको पनि महिना दिन पुगिसकेछ । भित्तामा टाँगिएको पात्रो हेरें । अनि मात्र थाहा थाहा पाएँ आज त मंसिर आठ गते शुक्रवार रै’छ । अनि कलेज जान तयार भएँ । कलेज जानु पनि त थियो । बीए दोस्रो वर्षको पढाइ चलिरहेको छ ।
०००
मंसिरको महिनासँगै ठण्डी सुरू भइसकेको छ । प्रत्येक साल मंसिर यसैगरी कठ्याङग्र्याउँथ्यो । शरीर त चिसै थियो तर मन तात्तिदै छ, एकाबिहानै आएकोे बुबाको फोनले । के जरूरी काम परेर त्यति बिहानै फोन गर्नुभएको होला ? कौतुहलताले भित्र–भित्रै आँधीहुरी चलिरह्यो । भारी मन लिएर कलेजतिर लागें । पढ्ने मन पनि लागेन । दोस्रो पीरीएड पनि सकिएछ । साथीहरू खाजा खान क्यानटिन पस्दै थिए । म लुसुक्क कोठातिर हान्निएँ । कोठामा पुगें । खाना बनाउन पनि जाँगर चलेन ।
‘बसपार्क तिरै केही खानुपर्ला ।’ झोला ठीकपारें । पर्स हेरें, दुईसय पचास रूपयाँ रै’छ । यति भए त पुगिहाल्छ नि । मनमनै सोचें ।
चिसो कोठामा धेरै बेर मन अडिएन । विस्तारै पाइलाहरू अगाडि बढाएँ । घर पुगिहाल्ने तीब्र हटहुटी जो थियो, मनमा ।
०००
गाउँजाने बस यात्रु खोज्दै थियो । बसपार्ककै एउटा होटेलमा खाजा खाइवरी म पनि गाडीमा उक्लिएँ । सीट प्रायः खाली थिए । सीटमा गएर थपक्क बसें । फुच्चे खलासी जोड जोडले यात्रु डाक्दै थियो ।
‘जाने हो हजुर छिन्चु, रामघाट, बोटेचौर ?’
करिब आधा घण्टापछि बस आफ्नो गन्तव्यतिर मोडियो । शरीर केही हलुका झैं महसुस भयो । प्रतिक्षाको घडी केही छोटो हुँदै थियो ।
०००
बस आफ्नै रफ्तारमा अगाडि बढिरहेको छ । मनमा कयौं छालहरू आइरहे, गइरहे । घर सम्झें । बाबा आमा सम्झें । बुढ्यौलीतिर सरिरहेका उहाँहरूको अवस्था सम्झें । गानो दुखिरहने आमाको पेट । ६० कटिसकेका बुबाको अनुहारका चाउरी । सबै–सबै आँखा वरिपरि नाचिरहे, भित्र कतै गाँठो परेछ । झ्यालका कापबाट आएको चिसो स्याँठले चिसो भएँ । तर सोचमग्न ।
‘म पनि त यसै महिनाबाट बीस पुगेर एक्काइस वर्ष तिर लागें नि ।’ आफैंलाई नियालें । मन नलागि नलागी फिस्स मुस्कुराएछु । पाश्र्वमा हिन्दी फिल्मको सेन्टिमेन्टल गीत गुञ्जिरहेको थियो ।
०००
कलेजमा सधैं लास्ट बेन्चर थिएँ म । अन्तरमुखी स्वभाव भएर होला थोरै साथी थिए मेरा । पढाइमा कमजोर भएकाले सरहरूको नजरमा पनि खास्सै परिनँ । तर पनि विद्यार्थीको ट्याग नै मेरो उच्च परिचय बनेर आउँथ्यो । म गर्वसाथ स्वीकार्थें । लाग्थ्यो पढ्नु चानचुने कुरा हैन । म पनि पढेर टिचर बन्छु । अनि बाबाआमालाई सुखसँग पाल्छु । मनमा लड्डु फुट्थे । म घ्यूसँग कपाकप खान्थें ।
०००
पढाइभन्दा क्याम्पसमा हुने साहित्यिक कार्यक्रमले चाहिँ खुबै तान्थ्यो । म कहिले काहीं गजल र कविता कोर्थें । ठट्यौली पाराका । माया पिरतिका । त्यस्तै त्यस्तै । एकान्तमा आफैं पढ्थें । अरूलाई सुनाउन किनकिन धक लाग्थ्यो । कहिले काहीं त धक मानिमानी सुनाएको पनि थिएँ । राम्रो प्रतिक्रिया पाउँदा मन उडेर माथी माथि पुग्थ्यो चङ्गा जस्तै । अनि एकैछिनमा आफ्नै धरातलमा ओर्लेर यथार्थको बाटो नापिरहेको हुन्थें । मनमा अनेक कुरा खेलिरहन्थे ।
‘आज घरबेटीली कोठाभाडा मागेको छ । अस्ति घरबाट ल्याएको पन्ध्र सय ग्यास भर्दा सकियो ।’ रित्तो गोजी छाम्थें । त्यसै–त्यसै हातखुट्टा गल्थे । अधिल्लो पटक घरजाँदा बा’ले भन्नु भएको थियो, ‘अब हाम्रो भर नपरेस् । एउटा जागिर खोजेर खाएस् । यो खेती किसानीले मात्र कति दिन पुग्ला । अब त तेरो पनि केही गर्ने बेला आयो । तैं त होस् घरको छोरो भनेको पनि ।’ बुबाका कुराले जिम्मेवारीबोधले थिच्दै त लगेको थियो । तर म भित्र ठूलै हलचल पनि ल्याइदिएको थियो ।
बुबालाई के थाहा यहाँ जागिर खान कति पापड बेल्नुपर्छ । कि त एक्स्ट्रा ट्यालेन्ट हुनुपर्छ । मसँग यी कुनै गुण थिएनन् । लोकसेवादेखि बोर्डिङ्ग टिचरका आवेदनहरू सबै ठाउँ जाँच दिन्थें । सबै ठाउँ असफलता । हरेक ठाँउ हारथाक भएर फेरि बुबालाई नै सम्झिन्थें । यही मेरो बाध्यता थियो ।
०००
‘हजुर छिन्चु–छिन्चु’ खलासीले ढ्याप्प ढोकामा हात बजार्यो । गाडी छेवैमा रोकियो । कोही मानिसहरू ओर्लिदै थिए कोही चढ्दै थिए । मलाई बाहिर निस्कने मन नै थिएन । भित्रैबाट चिहाएर हेरें । यात्रुहरू आ–आफ्नै गन्तव्यमा हिँडिरहेका थिए । सडकको दायाँ बायाँ तेर्साइएका ठेला गाडीबाट फलफूलको मिठो बासना आइरहेको थियो । कोही चिने जानेका, केही अपरिचित अनुहारहरू देखिन्थे । करिब १० मिनेट पछि फेरि बसले आफ्नो गति लियो । रफ्तारमा अगाडि बढ्यो मदानी चौर गोगनपानी हुँदै । आफ्नै सेरोफेरोको आभाषले मन खुशी हुँदै गयो ।
रातामाटा चोकमा पुगेर गाडी फेरि घ्याच्च रोकियो । जहाँबाट हाम्रो घरतिर जाने बाटो लाग्थ्यो । चोकमा उत्रिएर सरासर म अगाडि बढें । बाटोमा कोही चिनेजानेका मानिसहरू पनि जम्काभेट हुन्थे । सोध्थे ‘कहाँबाट आयौ कान्छा ।’
म नमस्कार गर्दै मुसुक्क हाँसेझै गरेर जवाफ फर्काउँथे ‘सदरमुकामबाट ।’ अनि अगाडि बढ्थें ।
०००
घर पुग्दा घरमा कोही थिएन । बाआमा बारीतिर हुनुहुन्थ्यो सायद । गोठमा एकनासले बाख्रा कराइरहेका थिए । आफ्नै आँगन पनि बिरानो लागेको थियो । धेरैदिनपछि आएर होला । कैयौं दिनदेखि लिपपोत नगरिएका भुइँ र भित्ताको माटो उप्किएर माटो थुप्रिएको थियो । मन अमिलो भयो । कठै मेरी आमा कसरी एक्लै घरधन्दा र चुल्होचौको गर्दिहुन । भित्रभित्रै नरमाइलो लागिरहेको थियो ।
०००
साँझ अबेर आमा काँचा दाउरा लिएर भान्छा छिर्नुभयो । भान्छाबाट धुवाँ पुत्ताइरहेको थियो । उहाँ ख्वाकख्वाक गरेको पनि सुनियो । म विस्तारै भान्छा छिरें । आँखा पिरो भए तपतप पानी चुहिए । आमालाई ढोगें । उहाँले मेरो शिरमा हात राख्नुभयो । उहाँको मुहार केही उज्यालो भएको थियो । साँझ छिप्पिदै गर्दा बुबा घाँसको भारी बिसाएर हातखुट्टा पखाल्दै हुनुहुन्थ्यो । उहाँतिर हेरें । अनुहारमा चाउरी थपिएका थिए ।
०००
रातीसँगै खाना खान बस्दा बुबाको मुहारमा प्रश्नवाचक भावले हेरें । अनि शिर झुकाएँ । बुबाले विस्तारै बोल्न थाल्नुभयो, ‘यसपाली तेरो बिहे गरिदिने सोचेका छौं ।’ म त झसङ्गै भएँ । अनि भासिएको स्वरमा बोलें ‘मेरो बिहे ? को सँग ?’
थोरै मुस्कुराहट मिसिएको स्वरमा भन्नुभयो ‘तँलाई मन परेकै केटी हो । बैदारकी छोरी कुसुम । केटी शिलस्वभावकी छ । पढेलेखेकी छ । हामीलाई नि त्यो केटी साह्रै मनपर्छ बुझिस् ।’… ‘मन धेरै नडुला हेर । तेरो लगन आ’छ यसपाली । मैले चिना
हेराइसकें । बैदारले पनि हुन्छ भनेका छन् । केटी नि राजी छ रे ।’ बुबा खाना खाएर बाहिर निस्कनु भयो । मैले अगाडि केही बोलिनँ । अगेनाको छेउमा आगो ताप्दै टोलाइरहें । मनमनै सोचें साँच्चै लगनै पो आएछ कि क्या हो । मलाई पनि कुसुम राम्रै लाग्थ्यो । मेरा बाआमा त मेरो मनको कुरा बुझ्ने देउतै हुन् ।
आमाबाट थाहा पाएँ, बुबाले मेरो किताबमा कुसुमको फोटो भेट्नुभएछ । अनि सोच्नुभएछ म उसलाई मन पराउँछु । अनि त के चाहियो । कुरा यहाँसम्म बढिसकेछ ।
०००
मेरा बुबा आमालाई के थाहा, त्यो फोटो उसले मलाई बीएको भर्ना फर्म भरिदिनु भनेर पो दिएकी
थिइ । एउटा त घरकै किताबमा पो छुटेछ ।
साझा बिसौनी ।