नेपाल पाकिस्तानसँग पराजित

नेपाल महिला टि–२० एसिया कपको पहिलो खेलमा पाकिस्तानबाट ९ विकेटले पराजित भएको छ। थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको शनिबार भर्खर सम्पन्न खेलमा नेपालले दिएको ४८ रनको चुनौतीलाई पाकिस्तानले १० ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो।

नेपाललाई पराजित गर्न पाकिस्तानलाई ३३ मिनेटको समय मात्र खर्चिनु पर्यो। पाकिस्तानले एक विकेट पनि रन आउटको रुपमा गुमाएको थियो। प्रारम्भिक ब्याट्सम्यान आयसा जाफरलाई २६ रनमा खेलिरहेको स्थितिमा सरस्वती कुमारीले रन आउट गरिन्।

अर्की प्रारम्भिक ब्याट्सम्यान जाभेरिया वादुदले अविजित १६ रन बनाएपछि पाकिस्तान ६० बल बाँकी रहँदा विजयी भयो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्यो। नेपाल १८ दशमलव १ ओभरमा ४७ रन मात्र बनाउदै अलआउट भएको थियो।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले मध्यक्रममा सर्वाधिक ११ रन बनाएकी थिइन्। चार खेलाडीले खाता पनि खोल्न सकेनन्। नेपालले अतिरिक्त रनको रुपमा १० रन जोडेको थियो।

प्रकाशित मितिः   ११ मंसिर २०७३, शनिबार १५:०९