मोतीबिन्दुको निःशुल्क उपचार

आँखामा मोतीबिन्दुको समस्या भएका २४ जनाको शल्यक्रिया गरिएको छ । वीरेन्द्रनगर–१३ को स्वास्थ्यचौकी जर्बुटाले आयोजना गरेको प्राथमिक आँखा उपचार शिविरमा निःशुल्क शल्यक्रिया गरिएको हो । स्वास्थ्यचौकी जर्बुटा र सुर्खेत आँखा अस्पतालले ५०/५० प्रतिशत खर्च व्यहोरेर उनीहरूको आँखाको उपचार गरिएको छ । शिविरमा दुई सय ८५ जनाभन्दा बढीले आँखाको उपचार गराएका छन् । शिविरमा तत्काल मोतीबिन्दुको शल्यक्रियाका लागि छनोट भएका ३३ जनामध्ये २४ जनाको शल्यक्रिया भएको स्वास्थ्यचौकी जर्बुटाका प्रमुख नविन भुषालले जानकारी दिए ।

उनका अनुसार बाँकीको पनि केही दिनभित्रै शिविर सञ्चालन गरेर शल्यक्रिया गरिनेछ । मोतीबिन्दु भएका सबै बिरामीलाई आँखा अस्पतालसम्म आउन–जान, औषधि खर्च, ल्याब खर्च र शल्यक्रियाको आधा शुल्क वडा नं. १३ को कार्यालय र बाँकी खर्च सुर्खेत आँखा अस्पतालले व्यहोर्ने बताइएको छ । यसअघि पनि स्वास्थ्यचौकी जर्बुटाको पहलमा समुदायस्तरमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन हुने गरेका थिए ।

प्रकाशित मितिः   १० फाल्गुन २०७७, सोमबार १०:२६