तेस्रो चरणको खोप फागुन २३ देखि

शिक्षकदेखि सर्वसाधारणसम्मलाई कोरोनाविरुद्धको खोप लगाइने


 

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अब सर्वसाधारणले पनि लगाउन पाउने भएका छन् । जोखिम समूहको प्राथमिकताका आधारमा लगाउन सुरू गरिएको खोप पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र दोस्रो चरणमा सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामती कर्मचारी, वित्तीय संस्थाका कर्मचारी तथा पत्रकारलगायतलाई लगाइएको थियो । सरकारले फागुन २३ गतेबाट सर्वसाधारणलाई पनि खोप दिने भएको हो ।

तेस्रो चरणको अभियानमा सुरूमा ५५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरूलाई खोप लगाइनेछ । उक्त चरणमा ज्येष्ठ नागरिकलाई खोप दिने निर्णय सरकारले गरेको हो । त्यसका साथै शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारी र सार्वजनिक यातायातका चालकहरूलाई पनि खोप लगाइने छ । अहिले तेस्रो चरणको अभियानका लागि विवरण संकलन भइरहेको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुुख चेतननिधि वाग्लेले खोप लगाउनुपर्ने व्यक्तिहरूको विवरण संकलनको काम भइरहेको बताए ।

सरकारले आइतवार थप १० लाख डोज खोप भारतबाट खरिद गरी ल्याएको छ । खोपको सीमितताका कारण प्राथमिकता निर्धारण गरेर अभियान चलाइरहेको सरकारले विस्तारै सबै नागरिकलाई खोप लगाइने जनाएको छ । भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले १४ माघदेखि देशैभर कोरोना खोप अभियान सुरू गरेको थियो । चीनले पनि पाँच लाख डोज दिने घोषणा गरेको छ । यद्यपि त्यो खोप आइसकेको भने छैन ।

हालसम्म कर्णालीमा सात हजार पाँच सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ३१ जनाको मृत्यु भएको छ भने सात हजार तीन सय ५६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः   १० फाल्गुन २०७७, सोमबार १०:२६