स्वार्थको चङ्गुलमा सामुदायिक वन

वीरेन्द्रनगर–५ मा रहेको रामजानकी सामुदायिक वन उपभोक्ता समितिको नेतृत्व चयनका लागि निर्वाचन हुँदै । फाइल फोटो

समुदायको ठूलो हिस्सा आवद्ध रहने सामुदायिक वन उपभोक्ता समितिहरूमा पछिल्लो समय विवादका घटना बढ्दै गएको पाइएको छ । उपभोक्ता समितिको नेतृत्व चयनदेखि आर्थिक हिनामिना, बेरूजुलगायत विवादका कारण बन्ने गरेका छन् । समितिका पदाधिकारीले मनोमानी र अनियमितता गरेको भन्दै उपभोक्ताहरूबाट विभिन्न निकायमा छानविनका लागि उजुरी पर्ने गरेको हो ।

डिभिजन वन कार्यालय सुर्खेतका अनुसार पछिल्ला वर्षहरूमा सामुदायिक वनसम्बन्धी मुद्दा पनि बढेका छन् । सानातिना विवादका उजुरी सामुदायिक वन समितिमै मिलाउन मिल्ने कानुनी प्रावधान छ । तर, वर्षेनी १० भन्दाबढी उजुरीहरू डिभिजन वन कार्यालयमा आउने गरेका हुन् । अधिकांश उजुरी कार्यालयका कर्मचारीहरू गइ समितिमै मिलाउने समेत गरिएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा जिल्ला अदालत सुर्खेतमा ६ वटा सामुदायिक वनका मुद्दा परेका थिए भने डिभिजन वन कार्यालयमा १० मुद्दा दर्ता भएका थिए । ती १६ वटै मुद्दाको फैसला भइसकेको कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले बताए । त्यस्तै, चालु आर्थिक वर्ष २०७७÷०७८ को पुस मसान्तसम्ममा डिभिजन वन कार्यालयमा २१ वटा मुद्दा परेका छन् । वनसम्बन्धी चारवटा मुद्दा जिल्ला अदालतमा परेको सूचना अधिकारी रावलले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. २ र ३ मा पर्ने सिर्जना सामुदायिक वन उपभोक्ता समितिका नाममा डिभिजन वन कार्यालय सुर्खेतमा उजुरी परेको छ । आर्थिक कारोबार पारदर्शी नभएको भन्दै माघ १० गते स्थानीय उपभोक्ता खम्बजङ्ग थापा, बलबहादुर खड्का, तुल्सी पौडेललगायत पाँच सय तीन जनाको हस्ताक्षरसहित समितिविरुद्ध उजुरी दिइएको हो ।

२०६१ सालदेखि खड्कबहादुर सुनारले अध्यक्षको पद नछोडेको र वन फडानीमा संलग्न भएको उपभोक्ताको आरोप छ । सोही विषयमा जानकारी दिन गत शुक्रवार उपझोक्ताहरूले पत्रकार सम्मेलन समेत गरेका थिए । समितिका आर्थिक अपचलनसमेत भएको आरोप उपभोक्ताले लगाएका छन् । उपभोक्ताहरूले समितिका नाममा उजुरी दिएपछि आफूहरूको नाम राखी किर्ते हस्ताक्षर गरेको भन्दै पुनः डिभिजन वन कार्यालयमा उजुरी दिनेका विरुद्धमा पनि उजुरी परेको छ । समितिका अध्यक्ष खड्कबहादुर सुनारले आफूविरुद्ध षड्यन्त्रपूर्वक उजुरी दिइएको बताए । ‘विदेशमा बसेका, घरमा नभएका र केहीलाई झुक्काएर किर्ते हस्ताक्षर गरेर उजुरी दिइएको छ,’ उनले भने, ‘त्यसैले उनीहरूविरुद्ध नै उजुरी दिनु परेको हो ।’ वन समितिमा कुनै अनियमिता नगरिएको उनको दाबी गरे ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नं. २ को जनसंरक्षण सामुदायिक वन उपभोक्ता समितिमा बेरुजुको विवाद छ । पुरानो समितिले बेरुजु निकालेको भन्दै हालको समितिले वन कार्यालयमा उजुरी दिएको छ । अध्यक्ष बमबहादुर शाहीसहितले पुरानो समितिविरुद्ध बेरुजु रकम फछ्र्याैट गर्न उजुरी दिएको वीरेन्द्रनगर सव–डिभिजन वन कार्यालयका अधिकृत प्रशान्त श्रेष्ठले बताए । उनका अनुसार दुई लाखभन्दा बढी रकम बेरुजु देखिने कागजातसहित कार्यालयमा उजुरी आएको हो । उजुरी परेपछि डिभिजन वन कार्यालयबाट कर्मचारी खटिइ विवाद समाधानको प्रयास थालिए पनि विवाद समाधान हुन सकेको छैन ।

वीरेन्द्रनगर–९ स्थित बाउन्नेचौर सामुदायिक वन उपभोक्तामा उस्तै कलह छ । यहाँ समिति गठनमा विवाद चुलिएको हो । विवाद समाधानका लागि वन डिभिजनमा उजुरी परेको छ । विधानअनुसार समितिमै मिलाउन सकिने विवाद पनि बढ्दै जाँदा वन कार्यालय र अदालतसम्म उजुरी पुग्ने गरेका हुन् । पछिल्लो समय सामुदायिक वनहरूमा विवादका अखडा बन्दै गएका छन् ।

समितिको नेतृत्वमा हुनेले मनोमानी गरेका कारण विवाद बढ्ने गरेको उपभोक्ताहरूले बताएका छन् । वन संरक्षणभन्दा पनि कमाउने उद्देश्य राखेर समितिको नेतृत्वमा जाने प्रवृत्ति हाबी हुँदै गएको उनीहरूको गुनासो छ । सुर्खेतमा वन उपभोक्ता समितिहरूको कार्यसमिति चयनका लागि निर्वाचन नै हुने गरेको छ ।

उपभोक्ताहरू नेतृत्वमा पुग्न दलीय भागबन्डा तथा प्यानल नै बनाएर चुनावमा होमिने गरेका छन् । जिल्लाका कतिपय वन उपभोक्ता समितिमा दुई/तीन दशकदेखि एकै व्यक्तिले नेतृत्व गरिरहेका छन् । नेतृत्व मोहका कारण पनि उपभोक्ता समितिहरूमा विकृति मौलाएको छ ।