प्रदेश पर्यटन गुरुयोजना: पूर्वाधारमा १२ अर्ब लगानी

कर्णालीमा दीर्घकालीन पर्यटन गुरुयोजना तयार गरिएको छ । प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकास गर्नका लागि प्रदेश सरकारले १० वर्षे गुरुयोजना बनाएको हो ।

प्रचुर सम्भावना भए पनि यसअघि कर्णालीमा पर्यटन पूर्वाधारको विकास हुन सकेको थिएन । प्रदेश सरकारले हालसालै पर्यटनलाई प्राथमिकतामा राखेर कर्णालीको गुरुयोजना बनाएको छ । प्रदेशलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरी अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा विकास गरिने दाबी सरकारको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन गुरुयोजना निर्माण गर्दा दूरदृष्टिसहित पाँच वर्षीय कार्ययोजना अघि सारेको हो ।

गुुरुयोजना कार्यान्वयनका लागि दुई चरणको अवधारणा ल्याइएको छ । हरेक वर्ष बढ्ने वृद्धिदरसहितका दुई वटा चरण अल्प र मध्यकालीन (२०७७/०७८ देखि २०८०/०८१) तथा दीर्घकालीन (२०८१/०८२ देखि २०८६/०८७) गुरुयोजनामा समेटिएको छ । अल्पकालीन र मध्यकालीन चरणमा सुदृढिकरण, योजना, सचेतना, पूर्वाधार विकास, बजार विस्तार र विविधिकरण गर्ने उल्लेख छ । दोस्रो चरणमा विशिष्टीकरण, सुधार विस्तार, सम्भार र बजार व्यवस्थापन गर्र्ने मुख्य लक्ष्य राखेको छ । गुरुयोजनामा आन्तरिक पर्यटक आगमनको दर वार्षिक औषत १२ दशमलव ६ प्रतिशतले वृद्धि हुने उल्लेख गरिएको छ । कर्णालीमा सन् २०२९ सम्म १५ लाख आन्तरिक पर्यटक आउने अनुमान गरिएको छ । गुरुयोजनामा भारतीय र तेस्रो मुलुकबाट दुई लाखभन्दा बढी पर्यटक आउने लक्ष्य लिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले गुरुयोजना छिटै कार्यान्वयनमा जाने बताए । उनले भने, ‘कर्णालीमा पर्यटन क्षेत्रको सम्भावना धेरै छ । हामीले यसको विकास र प्रवद्र्धनका लागि एउटा खाका तयार गरेका छौं । तीनै तहका सरकार, निजी क्षेत्रको सहभागितामा कार्यान्वयन गर्छाैं ।’ कर्णालीको पर्यटन विकासले देशकै आर्थिक विकासमा टेवा पुग्ने ठानिएको उनले बताए । प्रदेशदेखि जिल्ला, नगर र गाउँपालिकासम्म पर्यटन योजना बनाएर संस्थागत संरचना बनाउने मन्त्रालयको तयारी छ । पर्यटनसम्बन्धी नीति तथा नियामक संरचना बनाएर गुरुयोजना कार्यान्वयन गर्न लागिएको हो ।

कर्णालीमा विश्वकै ध्यान खिच्न सक्ने पर्यटकीय स्थलहरू छन् । तर, पूर्वाधार र प्रचारप्रसारको कमिका कारण ती स्थलहरू ओझेलमा पर्दै आएका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा यहाँका पर्यटकीय स्थान सुनसानजस्तै छन् । सरकारी मात्रै होइन कर्णालीको पर्यटनमा निजी क्षेत्रको लगानी समेत न्यून छ । लगानीको वातावरण तथा आवश्यक पूर्वाधार विकास नहुँदा पर्यटन व्यवसायले गति लिन नसकेको हो । पर्यटनमा निकै पछाडि रहेको कर्णालीमा सन् २०२९ सम्म एक लाख ५० हजारले पर्यटन क्षेत्रमार्फत रोजगारी पाउने महत्वाकांक्षी योजना भने गुरुयोजनामा राखिएको छ ।

प्रादेशिक ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० वर्ष अर्थात् सन् २०२९ सम्म १० प्रतिशत रहने गुरुयोजनामा उल्लेख छ । यो अवधिसम्ममा सुुविधासम्पन्न एक हजार सात सय ५० होटल तथा रिसोर्ट बन्ने गुरुयोजनाको परिकल्पना छ । तारे होटल, नदी किनारामा रिसोर्टहरू, बिहार र मन्दिरमा गेष्ट हाउस, होमस्टेलगायत सञ्चालन हुने र त्यसका लागि सरकारले सहयोग, सहजीकरण र प्रोत्साहन गर्ने बताइएको छ । प्रदेशमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल, दुई वटा क्षेत्रीय र आठ वटा स्थानीय विमानस्थल बनाइने योजना ल्याइएको छ ।

पर्यटन विकासका लागि अहिलेसम्म ठोस गुरुयोजना नबनेको कर्णालीमा यसपटक भने पाँच वटा रणनीतिक योजना अघि सारिएको छ । गुरुयोजनामा डोल्पालाई डोल्पा पर्यटन क्षेत्र, जाजरकोट, रुकुम–पश्चिम र सल्यानलाई जोडेर मध्यकर्णाली पर्यटन क्षेत्र, कालीकोट, जुम्ला मुगु र कोल्टीलाई समावेश गरी रारा–जुम्ला–सिंजा–कालीकोट पर्यटन क्षेत्र, हुम्लालाई हुुम्ला–लिमि–हिल्सा पर्यटन क्षेत्र र दैलेख तथा सुर्खेतलाई मध्यभेरी पर्यटन क्षेत्रको रूपमा प्रचार गरिने प्रदेश सरकारको योजना छ । छनोट गरिएका रणनीतिक पर्यटन क्षेत्रमा पर्ने पर्यटकीय सडक, जलमार्ग, परिपथ, पदमार्गहरूले जोडेर पर्यटकलाई ग्रेट हिमालयन टे«लको रूपमा विकास गरिने बताइएको छ ।

गुरुयोजनामा सात वटा रणनीतिक पर्यटकीय उत्पादन क्षेत्र र पर्यटन कार्यक्रमहरू सञ्चालन गर्ने भनिएको छ । गुरुयोजनाको कार्यान्वयन र अनुगमनको नेतृत्व मन्त्रालयले गर्नेछ । गुरुयोजना कार्यान्वयनका लागि आगामी पाँच वर्षभित्र १२ अर्ब ३१ करोड ७७ लाख रूपैयाँ अनुमानित बजेट
खर्चिनुपर्ने छ ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७७, आईतवार ११:०१