बर्डफ्लु देखियो

सुर्खेतमा बर्डफ्लुको भाइरस देखिएको छ । वीरेन्द्रनगर–१२, का दुई जना किसानले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । संक्रमण देखिएपछि कुखुरा र अण्डा नष्ट गरिएको छ । वीरेन्द्रनगर–१२ स्थित नौलो टोलममा पालिएका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । संक्रमण देखिएका फर्ममा दुई सय ७९ कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ । संक्रमण पुष्टि भएपछि नियन्त्रणका प्रयासहरू थालिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डेले बताए ।

संक्रमण फैलिने जोखिमलाई मध्यनजर गरेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा शुक्रवार जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले संक्रमण देखिएका कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो ।

संक्रमण नियन्त्रणको सहजीकरण गर्न चार जना वरिष्ठ पशु चिकित्सकहरूको टोली समेत सुर्खेत आएको छ । बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशु सेवा विभाग काठमाडौंबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली खटिएको हो ।

पन्छी बिरामी परेमा वा मरेमा नजिकको पशु सेवा निकायमा सूचना गर्न आग्रह गरिएको छ । भारतबाट आउने दानाबाट बर्डफ्लु भित्रिएको अनुमानसँगै लुकिछिपी ल्याएका पन्छी तथा पन्छीजन्य वस्तुबाट बर्डफ्लु रोग सर्न सक्ने भएकाले सीमा नाकाहरूमा चेक जाँचमा कडाइ गर्न सम्बद्ध निकायले सुरक्षाकर्मीलाई समेत निर्देशन दिएका छन् । सरकारले भारतबाट भित्रिने पन्छीजन्य वस्तुमा प्रतिबन्ध लगाएको ६ वर्ष भए पनि खुला सीमानाका कारण भारतीय कुखुरा बाँके हुँदै अवैध रूपमा कर्णाली प्रदेश भित्रिने गरेका छन् ।

बर्डफ्लु तीव्र गतिमा सर्ने सूक्ष्म भाइरसको कारणले लाग्ने प्राणघातक रोग हो । यसको हालसम्म औषधि र खोप पत्ता लागिसकेको छैन । तर विज्ञहरूका भनाइअनुसार उचित सतर्कता अपनाए मान्छेमा यो रोग कमै सर्ने गर्छ । कुखुरा फारममा यो संक्रमण भएपछि मानिसमा समेत सर्ने सम्भावना बढी रहन्छ । सुर्खेतमा बर्डफ्लुको संक्रमण देखिएपछि कुखुरापालक चिन्तित बनेका छन् ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७७, आईतवार १०:५८