बालविवाहविरुद्ध संघर्ष

कर्णालीमा बालविवाह भयावह छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यहाँ ५२ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । २० वर्ष नपुग्दै विवाह गर्ने बालबालिकाको संख्या उच्च छ । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानवअधिकारको दृष्टिकोणबाट आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनुपर्दछ । तर विवाहको लागि न्यूनतम उमेर तोकिएको हुन्छ । नेपालको मुलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । उमेर नपुगेर गरिने विवाह बालअधिकार हनन्को विषयको हो । जसलाई संविधानले नै दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ ।

बालविवाह उच्च रहेको मुलुकहरूमध्ये नेपाल पनि अग्रपंक्तिमा रहेको छ । कर्णाली प्रदेश उच्च बालविवाह हुने प्रदेशमध्ये एक हो । बालविवाह उच्च हुनुमा सामाजिक एवम् सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरू रहेको बताइन्छ । कारण जुनसुकै भए पनि बालविवाह गलत हो । यसले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन आफ्नो भविष्यको छनौट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुन्छन् । बालविवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभइ सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप पीडित हुन पुग्दछन् । कालान्तरमा समाज विकास प्रक्रियामा महिलाहरूको भूमिका र सहभागितालाई न्यून बनाइ सभ्य, सु–संस्कृत एवम् समतामूलक समाज निर्माण गर्न बालविवाह बाधक तत्व बन्न पुग्दछ । यसकारण पनि बालविवाहलाई अन्त्य गर्नुको विकल्प छैन ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट बालविवाह रोकथाम तथा नियन्त्रणका लागि प्रयास पनि भइरहेकै छन् । कानुनी रूपमै यसलाई वर्जित गरिएको छ । विद्यालय तहका पाठ्यक्रममार्फत पनि विद्यार्थीहरूलाई यसबारे शिक्षा दिन थालिएको छ । गाउँघरदेखि सहरबजारसम्म विभिन्न अभियानहरू सञ्चालन हुँदै आएका छन् । यद्यपि बालविवाह नियन्त्रण हुन सकेको छैन । एकातर्फ उमेर नपुग्दै हुने विवाहको दर बढिरहँदा समाजमा यस्ता उदाहरण पनि छन्, जहाँ बालबालिका आफै बालविवाह रोक्न लागिपरेका छन् । सफल पनि भएका छन् । घरपरिवार र अभिभावकको चाहना र दबाबमा हुनेगरेका बालविवाहविरुद्ध किशोरीहरूले नै विद्रोह गरेका प्रशस्त उदाहरण भेटिन्छन् । यसले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यस्ता उदाहरणको अर्को शिक्षा के पनि हो भने बालविवाह रोक्नका लागि स्वयम् बालबालिकाहरू नै यसप्रति सचेत हुनुपर्दछ । उनीहरूमा बालविवाह गर्नु हुँदैन भन्ने चेतनाको विकास गर्नु अपरिहार्य छ । तथ्याङ्क केलाउने हो भने अधिकांश बालविवाह बालबालिकाकै चाहना बमोजिम भएका छन् । अर्थात् परिवारको अवरोधकाबीच भागेर विवाह गर्नेको संख्या उच्च छ । यसकारण पनि बालबालिकाहरूलाई नै सचेत गराउन सकेको खण्डमा बालविवाहको दर नियन्त्रण हुनेछ ।