एक वर्षमा तीन सय बढीको हत्या

मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक गरिएको छ । शुक्रवार अनौपचारिक सेवा केन्द्र ‐इन्सेक) ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिवक्ता नहकुल सुवेदीको प्रमुख आतिथ्यतामा पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा सन् २०२० मा भएका मानव अधिकार उल्लघंन तथा ज्यादतिका घटनाहरू समावेश गरिएको छ । उक्त वर्ष मानव अधिकार उल्लघंन तथा ज्यादतिका घटनामा पाँच हजार पाँच सय ४३ जना पीडित भएको अभिलेख गरिएका छन् । सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ मा सो तथ्याङ्क समेटिएको हो ।

इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार सन् २०२० मा राज्य पक्षबाट सात जना पुरुषको हत्या भएको छ । अन्य पक्षबाट एक जना तेस्रो लिङ्गी र एक सय ५८ जना महिला तथा एक सय ८४ जना पुरुष गरी तीन सय ४३ जनाको हत्या भएको छ । सोही वर्ष महिलामाथि दुई हजार ६ सय ६ वटा हिंसाका घटना भएका छन् भने बाल अधिकार उल्लंघनका एक हजार चार सय ६१ घटना भएका हुन् ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७७, शनिबार ०९:१९