‘आठ किलोमिटर कालोपत्रे हुनु ठूलो उपलब्धी’

कर्णाली प्रदेश सरकारले तीन वर्षमा आठ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ । पूर्वाधार विकासको मुख्य आधार मानिने सडकमै सरकारले कम प्राथमिकता दिएको भन्ने टिकाटिप्पणी भइरहेका बेला भौतिक पूर्वाधार विकास मन्त्रालयले भने यति काम हुनुलाई सफलता ठानेको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल भन्छन्, ‘आठ किलोमिटर सडक कालोपत्रे हुनु पनि ठूलो उपलब्धी हो ।’ उनले अहिले नै कालोपत्रे कर्णालीको प्राथमिकता नभएको पनि बताए । सरकारले यो अवधिमा प्रदेश राजधानीमा मात्र सडक कालोपत्रे गरेको छ ।

‘कर्णालीका कतिपय जिल्लाहरूमा सडकको ट्रयाक समेत खोलिएको छैन,’ सचिव सिग्देलले भने, ‘यो चरणमा नयाँ ट्रयाक, सडक चौडा तथा ग्रावेलको काम भइरहेको छ ।’ कर्णालीका सबै जनतालाई विकासको प्राथमिकतामा राखेर पूर्वाधार विकासको काम भइरहेको उनको दाबी छ । गएका वर्षहरूमा नयाँ ट्रयाक खोल्ने र ग्रावेललगायतका काम बढी भएको भन्दै उनले आगामी दिनमा सडक कालोपत्रेको काम तीव्र पारिने जनाए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा दुई हजार तीन सय मिटर सडक सरकारले कालोपत्रे गरेको थियो । पूर्वाधार मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा सात सय मिटर मात्र सडक कालोपत्रे गरिएकोमा आर्थिक वर्ष २०७७÷०७८ को पुस मसान्तसम्ममा पाँच किलोमिटर कालोपत्रे थपिएको हो । आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्तसम्ममा ३१ किलोमिटर सडक कालोपत्रेको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशका अन्य जिल्लामा भने ग्रावेल र नयाँ ट्रयाक तथा सडक चौडाईको काम भइरहेको मन्त्रालयका इन्जिनियर विशेष शर्माले बताए । उनका अनुसार तीन वटा आर्थिक वर्षमा विभिन्न जिल्लामा गरी एक सय ६८ किलोमिटर सडक ग्रावेलको काम सम्पन्न भएको छ ।

त्यस्तै, हालसम्म मन्त्रालयले सात सय ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने तथा चौडा गर्ने काम गरेको छ । सुर्खेतमा ६५, दैलेखमा २४, जाजरकोटमा ३५, रुकुमपश्चिममा ५०, सल्यानमा २४ किलोमिटर ट्रयाकको काम सम्पन्न भएको छ । कालीकोटमा १५, हुम्लामा १६, मुगुमा सात, जुम्लामा पाँच र डोल्पामा चार किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको हो । सडक निर्माण तथा स्तरोन्नतीको काम संवेदनशील भएकाले सोचेभन्दा बढी समय लाग्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७७, शनिबार ०९:२१