दुर्गममा सेवा

स्वास्थ्य


डा. भूमेश काफ्ले

जेठ ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट फोन आयो, ‘डाक्टर एउटा बिरामीको मुखको हड्डी (म्यान्डिबल) भाँचिएजस्तो छ, हेर्न आइदिनूस् न ।’ म भने त्यतिबेला प्रतिष्ठानले कोरोना नियन्त्रणका लागि कर्णालीका हरेक गाउँगाउँमा चिकित्सक खटाएकाले जुम्लाको पातारासी गाउँपालिकामा थिएँ ।

म गाउँमा रहेकाले अन्य डाक्टरहरूलाई देखाउन सुझाएँ । अर्काे दिन जनरल सर्जन डा. हरिहर देवकोटाले बिरामी हेरेर सोही बिरामीको सिटिस्क्यानको रिपोर्ट पठाउनुभयो ।

मुखको हड्डी (म्यान्डिबल) दुई ठाउँमा भाँचिएको रहेछ । मैले सिटीको रिपोर्ट हेरिसकेपछि डा. देवकोटालाई बिरामीको सर्जरी गर्नुपर्ने हुनाले सर्जरीको लागि ओरल मेक्सिलोफेसियल सर्जनकहाँ रिफर गर्न सुझाएँ ।

जुम्लामा ओरल मेक्सिलोफेसियल सर्जन नभएका कारणले बिरामी रिफर गर्नुको विकल्प थिएन । फेरि म पनि अस्पताल बाहिर थिएँ । अन्य डेन्टल सर्जनले पनि रिफर गर्न सुझाउनु भएछ ।

केही दिन बितिसकेको थियो । बिरामी जान्छुजान्छु भन्ने तर नजाने गरेकोले डा. हरिहर देवकोटा लगायत अन्य डाक्टरहरू चिन्तित हुनुहुन्थ्यो । मसँगै जुम्लामै सर्जरी आँट्ने कि भनेर सल्लाह पनि गर्नुभएछ । मैले जुन ठाउँमा हड्डी भाँचिएको छ, त्यो ठाउँमा मुखको महŒवपूर्ण स्नायुहरू पर्ने हुनाले गर्न नसकिने बताएँ । बिरामीले पनि जाने कुरा गरेछन् । पठाइदिने कुरो भयो भनेर खबर आयो ।

म पातारासी गाउँबाट फर्केर तीन दिन क्वारेन्टाइनमा बसेर कोठामा आउँदा फेरि वार्डबाट फोन आयो, ‘अस्तिको बिरामी हेर्न आउनुप¥यो, हजुरलाई देखाउने भन्दै बस्नुभएको छ ।’

करिब १५ दिन भइसकेछ जान्छुजान्छु भन्दै भाँचिएको मुखको हड्डी लिएर बिरामी अस्पतालमा बसेको ।

म आउँदा बिरामी सर्जिकल वार्डमा हुनुहुन्थ्यो । उहाँको अवस्था अत्यन्तै नाजुक थियो । मुख सुन्निएको र पुरै बाङ्गो भएको थियो । घाउ पाकिसकेको थियो । भाँचिएको ठाउँमा निचोर्दा पिप निस्किरहेको थियो ।

बिरामीको हिस्ट्री लिन थालें । ३८ वर्षीय उहाँ गोठीचौर गाउँपालिका–२, गोठगाउँ जुम्लाका बासिन्दा हुनुहँुदोरहेछ, नाम कालिबहादुर बोहोरा ।

असार ३ गते गाउँमा काठको पुल बनाउने क्रममा खम्बा ढल्केर शरीरमाथि परेर लड्नु भएको रहेछ । बेहोस अवस्थामा गाउँलेले बाइकमा राखेर प्रतिष्ठान पु¥याएका रहेछन् ।

गाउँमा दुई लाखमा काठे पुल बनाउने योजना रहेछ । अलिकता पैसा पाउने आशामा सम्पूर्ण गाउँलेहरू आफैं पुल बनाउन लागेका रहेछन् । तर बिरामी १५–१६ दिनसम्म पैसा अभाव भएकाले उपचारका लागि बाहिर जान नसक्नु भएको रहेछ ।

मैले बिरामीको हिस्ट्री लिँदै गर्दा थाहा पाएँ, आर्थिक अवस्थाका कारण बिरामी उपचारका लागि जुम्ला बाहिर जानसक्ने अवस्था नै छैन ।

जुनसुकै हालतमा ढिलो नगरी जुम्लामै उपचार गर्नुपर्ने भयो । मैले बिरामी र उनका आफन्तलाई सम्झाउन थालें । उनीहरू जान्छौं जस्तो कुरा गर्दै थिए । मैले हुन्छ लैजानुस्, तपाईंहरू गाडी र पैसा खोज्नुस् म यता सम्भव भएको उपचार यतै गर्दै गर्छु भनें । तर पैसा जुट्न नसकेकाले बाहिर लैजान सम्भव पनि थिएन ।

यस्तो खालको समस्या (म्यान्डिबुलर फ्याक्चर) लाई दुई वटा तरिकाले उपचार गर्न सकिन्छ । पहिलो मैले अघि भने जस्तै सर्जरी गर्ने घाउलाई खोलेर भाँचिएको ठाउँमा प्लेटिङ गरेर बन्द गरिदिने । जुन यता जुम्लामा सम्भव थिएन । र, अर्काे मुखको तल र माथिका दाँतहरूमा तार लगाएर कस्ने र दुई वटै बङ्गारालाई इन्टर म्यासिलेरी फिक्सेसन गर्दिने । जसले गर्दा बिरामीले मुख चलाउन नपाओस् र हड्डी हल्लिन नसकोस् । यो काम जुम्लामै सम्भव थियो ।

मैले नेपालगन्जमा कार्यरत ओरल मेक्जिलो फेसियल सर्जन डा. अरुण महतसँग परामर्श लिन थालें । उपचार त गर्ने तर सामान पाइन्छ कि पाइँदैन भन्ने अर्काे तनाव थियो । जुम्लामा मैले यस्तो उपचार गर्नुपर्ने बिरामी पहिलो थियो । म सामान खोज्नतिर लागेँ ।

हामीसँग वायर थिएन । सामान मगाउन हुन्थ्यो, लकडाउनले त्यो पनि सम्भव थिएन । फेरि सामान नेपालगन्ज कि त काठमाडौंबाट मगाउनुपर्ने भएकाले कहिले आइपुग्ने ठेगान थिएन ।

ओटीमा पाइन सक्छ कि भनेर अर्थाेपेडिक सर्जनलाई फोन गरेँ । वायर त रहेछ तर मलाई चाहिने भन्दा मोटो । त्यसैले भए पनि काम गर्न प¥यो भनेर लिएर आएँ । बिरामी र डेन्टल हाइजिनिस्टलाई एसिस्टेन्टको लागि बोलाएर काम गर्न थालें । करिब दुई घण्टा लाग्यो फिक्स गर्न । तार मोटो भएकोले बिरामी र म दुवै जनालाई कठिनाइ भयो ।

मेरो पूरै हात रातो भयो । बिरामीलाई पनि दुखाइ भयो । त्यो दुखाइका लागि म हृदयदेखि माफी माग्छु ।

बिरामीसँग कत्ति पनि पैसा थिएन । अलिअलि भएको यत्रो दिन अस्पताल बस्दा खर्च भइसकेछ । अस्पतालको उपचार सबै फ्रिमा भएको थियो । गाउँपालिकाले पनि पैसा नदिएकाले सबै फ्रिमा गर्नुको विकल्प थिएन ।

मुख पूरै फिक्स गरेकोले बिरामीले झोलिलो कुरा बाहेक केही खान सक्ने अवस्था थिएन । जुस मज्जाले खुवाउनु भनेर सम्झाएको थिएँ । बिरामीको अवस्था हेर्दा घर पठाउन मन नलागेर सर्जिकल वार्डमा राखेको थिएँ ।

बिरामीले केही पनि नखाएर शरीरमा चिनीको मात्रा कमी भएछ । बिरामी तेस्रो दिनमा हाइपोग्लामिमियामा गएछ । धन्न घर पठाइएन छ । म आएर किन नखानु भएको, पाइपको सहायताले खानुपर्छ भनेर सम्झाएँ ।

बिरामीको आफन्तसँग गर्दा ‘सर बिरामीले बाँच्ने रहर हराइसक्यो बरु मर्छु भनेर केही पनि खान मान्दैन । गाउँ जान्छु र बिष खाएर मर्छु भनेर जिद्धी गरेको छ’ भनेर सुनाए ।

मैले बिरामीलाई राम्ररी सम्झाएपछि अलिअलि खान थाल्नु भयो । अब त बिरामीका आफन्तहरूले बिरामी घर लैजान्छौँ भन्न पनि छाडेका थिए ।

अर्काे दिन बिरामिको एक्स–रे गरेर भाँचिएको हड्डी ठाउँमा भए–नभएको कन्फर्म गरेर बिरामीलाई सम्पूर्ण प्रिकशन सिकाएर डिस्चार्ज गरेँ ।

१४ दिनपछि फेरि आउनु भनेर बोलाएको थिएँ । तर मनमा भने निकै डर थियो, मुख पूरै बन्द छ । बिरामीलाई दायाँबायाँ केही भयो भने डाक्टरले मुख थुनिदिएर यस्तो भयो अवगाल आइलाग्ने डर थियो ।

फेरि हड्डी जोडिएन भने डाक्टरले बिगा¥यो भन्ने सुनिरहेका कुराहरू हुनाले डर लाग्ने नै भयो । टाढा घर भएका बिरामी हुनाले केही समस्या भए पनि अस्पताल आइहाल्न सम्भव थिएन ।

१४ दिनमा बिरामी फलोअपमा आउनुभयो । डाइरिया भएर झन् कमजोर भएर आउनुभएको थियो । मायालाग्दो हुनुभएको थियो ।

मैले फिक्स गरेको तार निकालेर आफैं मेडिसिनको डाक्टरकहाँ लगेर देखाइदिएँ । मेडिसिनले पनि औषधि लेखिदिए । मैले तार निकालेपछि पनि अझै एक महिनासम्म सारो खाने कुराहरू नखानु, नरम कुरा खानु, मुख धेरै नचलनाउनु र ठूलो मुख नखोल्नुहोला भनेर सम्झाएँ । एक महिनापछि पनि फेरि फलोअपमा आउनु भनेर पठाएँ ।

महिना दिनपछि बिरामी फलोअपमा आउनुभयो । यस पटक उहाँलाई देखेर निकै खुसी लाग्यो । दाह्रीजुँगा काटेर चिटिक्क परेर हाँस्दै आउनुभएको थियो ।

यस पटक पनि उहाँसँग पैसा रहेनछ । गाउँकै पुल बनाउन गाउँपालिकाले पैसा दिने भनेपछि काम गर्दा उहाँ घाइते हुनुभएको थियो । तर गाउँपालिकाले अझै पैसा दिएको रहेनछ । गाउँपालिकासँग मलाई साह्रै रिस उठिरहेको थियो ।

बिचरा गाउँको विकासको काममा खटिँदा लडेर मुखको हड्डी भाँचिएको छ । रिफर भएको बिरामी पैसाको अभावमा जान सक्नुभएन, अझैसम्म पैसा नदिने । यो कस्तो खालको रबैया हो, जनप्रतिनिधिहरूको । मानवीयता भन्ने पनि कुरा छ नि ।

फेरि पनि हड्डीको एक्स–रे गर्नुपर्ने थियो । हड्डीको अवस्था हेर्नलाई र तार निकालिसकेपछि मुख सफा (स्केलिङ) गर्नुपर्ने थियो । यस पटक पनि बिरामीको निःशुल्क उपचार गरिएको थियो । एक्स–रे गर्दा थाहा भयो, हड्डी जोडिने क्रममा रहेछ । बिरामीलाई पनि धेरै ठीक भइसकेको थियो ।

आज त्यो तार निकालेर मुख सफा ग¥यौं । साह्रै खुसी लागेको थियो बिरामीको आजको अवस्था हेर्दा । विश्व कोरोनाको यत्रो महामारीमा छ । नेपालका हरेक अस्पतालमा उपचार गराउन बिरामीहरूलाई निकै कठिनाइ छ । कालिबहादुर यसरी यतै उपचार पाउँदा निकै दङ्ग हुनुहुन्थ्यो । कोरोनाको त्रासमा सबैभन्दा बढी एरोसोल मुखबाट निस्किने हुनाले नेपाल सरकार र नेपाल डेन्टल एसोसिएसनले अत्यावश्यक बाहेकका मुख सम्बन्धी कुनै पनि काम नगर्न सुझाएको छ ।

हामीले सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर बिरामीको पूर्ण उपचार गरेका थियौँ । जुम्ला जस्तो दुर्गममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान यी र यस्ता बिरामीहरूको लागि वरदान सावित भएको छ ।