मान्छे आफ्नै आविस्कारबाट विस्थापित हुनेछ

ganeshहामी केटाकेटी हुँदा हाम्रो छिमेकमा सेतो छाला भएका विदेशीहरू धेरै नै बस्थे उनीहरू जुन देशका भए पनि हामी उनीहरूलाई अम्रिकाने भन्थ्यौ । तिनै अम्रिकानेले के–के खाएर फालेको पातलो बट्टालाई सानो प्वाल पारेर लामै धागो अड्काएर अथवा सलाइको बट्टामा धागो अड्काएर दुईतिरबाट कुराकानी गर्दा कानमै अर्काे साथीले बोलेको आवाज आइपुग्दा आफूलाई ठूलै वैज्ञानिक भएको महसुस गरेका थियौं ।

म स्कुल पढ्दा–पढ्दै सुर्खेतमा टेलिफोन सेवा आयो हाम्रो घरबाट करिब एक किलोमिटरको दूरीमा आ.वा. घर थियो त्यहीबाट टेलिफोन सेवा पनि विस्तार गरियो सायद त्यतिबेला सीमित फोन मात्रै वितरण गरिएको थियो । सरकारी र गैरसरकारी कार्यालय संघ–संस्था तथा सीमित केही हुनेखानेहरूका घरमा मात्र टेलिफोन सेवा उपलब्ध भएको थियो । बुबाको अफिसमा पनि टेलिफोन सेवा जोडेपछि उहाँले आफूले फोनमा कुरा गरेको बारेमा घरमा आएर बयान गरेपछि मलाइ पनि फोनमा कुुरा गर्ने रहर लागेर आयो । बुबाको अफिसमा गएर मैले त्यो रहर मेटेको थिए । २०४८/०४९ सालतिर टेलिफोन लाइनको अलि विस्तार गरियो, हामी लगायत धेरैले आफ्नो घरमा टेलिफोन लाइन जोडे । हाम्रा केही साथीभाइहरूले यस कुरालाई फजुल मान्दै ‘फोनको के काम छ र हामीलाई ? हाम्रो मालीगाइ त्यता आएको छ कि फर्काइदे त भन्ने त होला अरु के नै जरुरी कुरा गर्नुछ र हामीलाई ?’ भनेको म अझै सम्झन्छु । आज फोन मानव जीवनको अभिन्न अङ्ग बनेको छ ।

मोबाइलको चलन आएको धेरै भएको छैन, करिब १०-१२ वर्ष भयो । त्यतिबेला काठमाडौं र छिट्टै देशका अरु ठाउँमा पनि मोबाइल सेवाको विस्तार गरियो । म जागिरको शिलशिलामा जुम्लामा थिएँ, हुन त जुम्लामा टेलिफोन सेवा केही अगाडि नै विस्तार भइसकेको थियो तर त्यतिबेलाको भिषण माओवादी आक्रमणमा परी सो सेवा ध्वस्त भएको थियो । निजी र सरकारी सबै फोनहरू बन्द थिए, एक-दुई ठाउँमा सार्वजनिक फोनको सुविधा थियो । कुरा गर्न लाइनमा बस्नुपथ्र्याे । यता सुर्खेतमा भने दौतरीहरू सबैले हात हातमा मोबाइल बोकेर हिँड्थे । काठमाडौंमा मोबाइलको सीम लिनको लागि मारामार भएको रातभर दिनभर लाइनमा बसेको समाचारहरू आइरहन्थे । हामीले सलाइको बट्टा अथवा त्यस्तै केही पातलो बट्टामा दुईतिर धागो टाँगेर कुरा गरेर खुब रमाउँथ्यौ आफूलाई वैज्ञानिक नै ठान्थ्यौं, आजको बच्चा जन्मेदेखि नै मोबाइल खेलेर रमाउँछ ।

मलाइ बुबाले लेख्न सिकाउँदा ‘अक्षरानी घना नि बाटुलानी पृथक पृथक’ भनेर लेख्न सिकाउनु हुन्थ्यो । अक्षर खुब राम्रा हुनुपर्छ भन्ने उहाँको चाहना थियो । बुबाको चाहना अनुसारका राम्रा अक्षर त मैले बनाउन सके कि सकिन तर तुलनात्मक रूपमा मेरा अक्षर राम्रै मानिन्छन् तर कम्प्युटरले लेख्ने अक्षरका अगाडि मेरा अक्षर निरिह बन्न पुगेका छन् र मलाइ यस्तो लाग्छ भोलिको पुस्ता हातले अक्षर लेख्न नजान्ने भएर निस्कने छ । आज चिठी लेख्ने चलन हराएर गइसक्यो । चिठी लेखेर खाम बन्द गरी टिकट टाँसेर हुलाकको सानो बाकसमा खसालिदिए पछि आफूले भनेको ठाउँमा त्यो चिठी पुग्ने प्रविधि पनि त्यति खेर एक किसिमले अनौठो नै थियो ।

आजभोलि त हुलाक सेवा करिब–करिब बेकम्मा हुने अवस्था भइसक्यो । हुलाकलाई कुरियरले उछन्यो कुरियरलाई फ्याक्स र इमेलले पछारिसक्यो । मैले फ्याक्सको बारेमा जानकारी पाएको पनि दुई दशक भन्दा बढी नै भयो होला । अमेरिकामा लेखेको यहाँ जस्ताको तस्तै आउँछ भन्ने सुन्दा पत्याउन गाह्रो लाग्थ्यो । तर गाउँघरमै ‘फलानाको छोराले बेलायतबाट फ्याउसो हान्दियो उसैले लेखेको अक्षर जस्ताको त्यस्तै यहाँ छाप्तो रहेछ त्यो फ्याउसो भन्ने मसिनले’ भनेर बुढापाकाहरू कुरा गरेको पनि धेरै कहाँ भएको छ र ।

कम्प्युटर भन्ने यन्त्र हुन्छ रे त्यसले मान्छेले जस्तै काम गर्नसक्छ रे भन्ने कुरा समाचारमा सुन्न नपाउँदै रोबोट भन्ने चिजले यस्तो काम ग¥यो उस्तो काम गर्यो भन्ने खबर पनि आयो । त्यो कम्प्युटर भन्ने चिजले विदेशतिर धेरै नै तहल्का मच्चाइसकेको थियो तर हाम्रो यता भने काठमाडौंतिर अलि व्यापक र केही अफिसहरूमा फाट्ट–फुट्ट कम्प्युटरको प्रयोग हुन थालेको थियो त्यो पनि टाइपराइटरको बदलामा । सायद मैले ढिलै २०६०/०६१ साल तिर मात्रै कम्प्युटर सिकेको हुँ । आज कम्प्युटरले के गर्न सक्दैन ? अन्तर्राष्ट्रिय यातायात, बैंक, व्यापार–बिजनेस, शान्ति–सुरक्षा जस्ता सरकारी गैरसरकारी काम कारबाही जताततै प्रविधिले सहजता ल्याउँदै गएको छ । त्यति मात्रै कहाँ हो र आज विश्व एउटा मान्छेको मुठ्ठीमा कैद हुन पुगेको छ ।

आज हात हातमा किसिम किसिमका हजारौं लाखौंका मोबाइल, ट्याब्लेट र ल्यापटप छन् । हातैमा संसार हेर्न मिल्छ, संसारसँग कुरा गर्न मिल्छ । फेसबुक र ट्वीटरले संसार भरीका मान्छेलाई एउटै हत्केलामा कोचकाच पारिदिएको छ । एउटा सामान्य मोबाइलमा कुरा गर्ने, चिठ्ठी लेख्ने, देश–विदेशमा लिखित खबर पठाउने, गीत भिडिओ रेकर्ड गर्ने, रेडियो सुन्ने, फोटो खिच्ने, हिसाब गर्ने लगायतका अकल्पनीय अनगिन्ति सेवा लिन सकिन्छ, जुन सामान्य जीवनमा काम नलाग्ने पनि हुन सक्छन् ।

म सामान्य काम चलाउ कम्प्युटर चलाउन सक्छु । आजको मान्छे जन्मदै कम्प्युटर सिक्छ र सिक्नै पर्छ । कम्प्युटर जीवनको अभिन्न अङ्ग बनिसक्यो । आजको मान्छे अब खाना खाने र पचाउने काम समेत कम्प्युटरले गरिदिए हुन्थ्यो भन्ने चाहना राख्छ भोलिको मान्छे माया गर्ने रिसाउने जस्ता भावनात्मक गतिविधि पनि कम्प्युटरले गरिदियोस् भन्ने चाहन्छ होला अनि त्यसपछि मान्छे आफ्नै चाहना र आवीस्कारबाट आफै विस्थापित हुनेछ र यो संसारमा मान्छेको कुनै काम रहने छैन । (समाप्त)