पर्वको मान्यता खोज्दै देउडा संस्कृति

ppकि सेरी न लउटउ कुलो, कि सेरी धान नहुन ।

किपाल्त न बासुन न्याउला के मेरा कान नहुन ।

नेपाली भाषा र संस्कृतिको उद्गमथलो हो, कर्णाली । कर्णालीको प्रमुख संस्कृति देउडा आधुनिक नेपालमा जरो गाढ्दै गएकोे अश्लिल संस्कृतिले ओझेलमा परेको छ । विकटता र अभावको प्रतिबिम्ब कर्णालीको मूल पहिचानकै राष्ट्रिय महत्व नहुनु कणालीको दुर्दशा हो । जल, जमिन र जगंलको अपार भण्डारमा घन्कीने देउडा भाका अमुल्य भएर पनि मूल्यहीन बनेको छ । जसरी कर्णालीको पानी उपयोग विना बगिरहेको छ त्यसैगरी यहाँको संस्कृति र पहिचान पनि उपयोगविहीन बनाउने खतरा छ ।

कर्णालीको देउडा गीत होइन संस्कृति हो । देउडा केबल नृत्य होइन्, यो त सिंगो कर्णाली प्रदेशको संस्कार हो । देउडा नृत्य, गीत र कलाको समिश्रणबाट जन्मेको संस्कृति हो । देउडा संस्कृतिको सुक्ष्म अध्ययन आवश्यक छ । देउडाभित्र धेरै बिधा अटाएका छन् । १४ अक्षरको अनुप्रासयुक्त पंक्ति देउडा गीत हो ।

कर्णालीको पानीखालाई रारा नुहावलाई

हिँड बाइजाउँ लेखका डाफ्या लेखै सुहावलाई

देउडा गीतमा भाव, संरचना र सन्देस हुन्छ । सुरिलो, लामो, घुमाउरो आवाजमा गाइएको भाका देउडा भाका हो र चोटिला सवाल जवाफ सहितको समूहिक प्रस्तुति देउडा खेल हो । देउडामा खस भाषाको प्रचूर प्रयोग भेटिन्छ । देउडा संस्कृतिले नेपाली भेषभुसाको पहिचान दिलाएको छ । यसभित्र नाटकमा पाइने भन्दा राम्रो प्रस्तुती, शैली, भाव र दृश्य सबै पाइन्छ । यसैगरी बाध्यबाधन विना नै संगीत सुन्न सकिन्छ । यो यस्तो कला हो जहाँ प्रतिस्प्रधापूर्ण अभ्यास प्रष्ट देखिन्छ । देउडा खेलमा चलेको यो सवाल र जवाफले देउडा भित्रको प्रतिस्प्रधाको उजागर गर्दछ ।

प्रेरणा विकः

न त नेत्र नेता भयो न नेत्र शाही भयो ।

काग तान्नै छन् कुकुर तान्नै मरेकीगाइ भयो ।

नेत्र राज शाहीः

एमालेको नेता मै हुँ जातको साइ मै हँु ।

दुध खान्या गोठाली त होइ दुध दिन्या गाई मै  हुँ। 

यो गीतभित्र राजनीतिदेखि विद्रोह र करुण रस प्रतिबिम्बित छ । देउडाभित्र नवरस लुकेका हुन्छन् । यो संस्कृति नेपालमा मात्र होइन विश्वमै दुर्लभ संस्कृति हो । जति धेरै सहभागी पनि अटाउने, समय र विषयको सीमारहित, स्वतन्त्र, समावेशी, गोलो आकारमा पैतला र लयको मिलनबााट गाउँदै घुम्ने विशेषता देउडामा मात्रै लुकेको छ ।

देउडा विभिन्न राष्ट्रिय पर्व जस्तै हो । देउडाको सुरुवात किन र कसरी भयो भन्ने इतिहास खुलेको छैन । तर यसको महत्व हरेक चाडपर्वदेखि विवाह, वर्तवन्ध, छैटी, आमसभामा उत्तिकै रहेको छ । सुदूरपश्चिममा विशेष पर्वको रूपमागौरालाई देउडा विशेष पर्व मानिदै आएको छ । तर कर्णालीमा देउडा विशेष पर्वको खाँचो छ । मध्यपश्चिमको मुटु, प्रदेश नं. ६ को सम्भावित राजधानी सुर्खेतमा हरेक महिनाको १ र १५ गते देउडा पर्व मनाइन्छ । यस कार्यले यो क्षेत्र देउडाको राजधानी हो भन्ने प्रमाणित हुन्छ । देउडा केवल मनोरञ्जनको माध्याम मात्र नभइ ज्ञान आदान–प्रदान र मित्रताको सम्वाहक पनि हो । देउडाले मायापिरतिदेखि राजनीतिसम्म छोएको हुन्छ । देउडाभित्रको रस पृथक, गहिरो र चोटिलो हुन्छ जुन अन्य विधामा पाइदैन । कविता, कथा, गजल जस्तै देउडा विधा पनि पाठ्यक्रममा समावेश हुन आवश्यक छ । कणालीबासीका साथै दैलेख, जाजरकोट, अछाम र सुर्खेतीहरू देउडाका फ्यान मात्र होइनन् देउडाका अनुयायी हुन् । देउडाले लोक संस्कृतिको जर्गेनाका साथै समाजको एकता र सामूहिक सम्बन्धमा प्रघाढ भूमिका खेल्दै आएको छ । देउडामा विभिधता छ, देउडामा समग्रता छ, यो गयात्मकतथा प्रस्तुतिगत संरचनामा बाँधिएको विधा हो ।

हाम्रो केन्द्रीय राज्यले देउडाको गाम्भीर्यता र महत्व बुझेन र आज हामी पुनर्संरचनामार्फत् सङ्घीयताको अभ्यासमा पुग्यौं । देउडा यस प्रदेशको प्रमुख पर्व बन्नु पर्दछ । यसको लागि राज्यले कुनै निश्चित दिन तोकेर राष्ट्रिय बिदासहित यो पर्व मनाउने वातावरण बनाउन आवश्यक छ । देउडामार्फत् हामी सन्देश प्रवाह मात्र होइन समाज रूपान्तरणको अभ्यास पनि गर्न सक्नेछौं । आज पनि हाम्रो समाज देउडा संस्कृतिको पक्षमा छ । देउडामार्फत् मनोरञ्जन लिँदै पुर्खाको अस्तित्व बचाउने अभियान थालेको छ । देउडा पश्चिम नेपालको मुटु हो । देउडाको प्रचार–प्रसार र संरक्षण आवश्यक छ । देउडा गीतको महत्व अपार छ । यसको प्रभाव अन्य विधाको तुलनामा व्यापक छ । तर पनि देउडा संस्कृतिले उच्च स्थान पाउन सकेको छैन । सङ्घीय प्रदेशमा देउडा संस्कृतिको कदर गरियोस् ।

प्रकाशित मितिः   ११ मंसिर २०७३, शनिबार १३:३६