स्वास्थ्य सेवा प्रभावकारी नभएको गुनासो

वीरेन्द्रनगर–८ खजुरास्थिति सहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी सेवा नदिएको स्थानीयले गुनासो गरेका छन् । आफूहरूले सहज स्वास्थ्य सेवा नपाएको भन्दै उनीहरू आन्दोलित समेत भएका छन् । वडा कार्यालयमा रहेको स्वास्थ्य सेवा केन्द्रको सेवा प्रवाहबाट असन्तुष्टि स्थानीयले बिहीवार नगरपालिका कार्यालयमा पुगेर नाराबाजी गरेका हुन् । सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहार राम्रो नभएको तथा सेवाग्राहीसँग झर्किने गरेको आरोप स्थानीयको छ ।

यता, स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज प्रेमा थानीले स्थानीयले लगाएको आरोप झुठो भएको बताएकी छन् । सीमित स्रोत साधनकाबीच आफूहरूले स्वास्थ्य सेवा प्रवाह गरिरहेको उनी बताँउछिन् । ‘तीन जना महिला कर्मचारी मात्रै रहेको सेवा केन्द्रमा हामीले प्रदान गरिरहेको सेवामा कुनै कमजोरी भएको छैन’ उनले भनिन, ‘सेवा केन्द्रप्रति अनावश्यक टिकाटिप्पणी गर्नु राम्रो होइन ।’

प्रकाशित मितिः   ७ फाल्गुन २०७७, शुक्रबार ०९:५१