गति लिँदै खेलकुद : सुर्खेतमा तीन वटा प्रतियोगता हुने

वीरेन्द्रनगरको मेयर कप १९ फागुनमा र एन्फाको जिल्ला लिग ७ चैतमा

कोरोना कहरका कारण झण्डै एक वर्षदेखि प्रभावित भएका खेलकुद गतिविधि पुनः सुरू हुन थालेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रभावका कारण ठप्पप्रायः खेल प्रतियोगिताहरू सञ्चालनको तयारी थालिएको हो । रङ्गशाला तथा खेलकुद प्रशिक्षण स्थलहरू लामो समयसम्म बन्द रहे । यो अवधिमा खेलाडी तथा प्रशिक्षकहरू अभ्यासबाट समेत वञ्चित भएका थिए ।

महिनौंदेखि कुनै पनि खेल प्रतियोगिता नभएको सुर्खेतमा अब भने जिल्ला फुटबल संघको आयोजनामा विभिन्न गतिविधि सञ्चालन हुने भएका छन् । मेयर कप पुरुष फुटबल, उपमेयर कप महिला फुटबल र जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । पछिल्लो समय कोरोना संक्रमणको जोखिम तथा त्रास कम हुँदै गएपछि खेल प्रतियोगिता हुन थालेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा मेयर कप फुटबल प्रतियोगिता यहीँ फागुन १९ गतेदेखि र एन्फाको तालिकाअनुसार जिल्ला लिग आगामी चैत ७ गतेदेखि सुरू हुनेछन् । वडास्तरीय मेयर तथा उपमेयर कपका लागि टिम दर्ताको समय फागुन १५ गतेसम्म रहेको छ भने टिम दर्ताका लागि तीन हजार एक सय रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।

पहिलो चरणको जिल्लास्तरीय लिगका लागि टिम दर्ताको अन्तिम मिति फागुन २९ गतेसम्म र टिमदर्ता शुल्क पाँच हजार एक सय रूपैयाँ तोकिएको छ । यस पटकदेखि जिल्ला लिग दुई चरणमा सञ्चालन गर्न लागिएको सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेश कार्कीले बताए ।

एन्फाको नयाँ प्रतियोगिता नियमावली बमोजिम अब जिल्लास्तरीय लिगमा पनि अंक तालिकाको पुछारमा रहने दुई टिम रेलिगेशनमा पर्ने र आगामी लिगमा फेरि प्रतिस्पर्धा गर्नुपर्ने बताइएको छ । संघले मेयर कप सञ्चालनका लागि उपाध्यक्ष प्रभात थापाको संयोजकत्वमा कर्णबहादुर चन्द, रमेश तुलाधर, सुन्दर पोखरेल र महेन्द्र चौधरी रहेको प्रतियोगिता सञ्चालन समिति बनाएको छ । लिगका लागि उपाध्यक्ष चन्द्रकुमार श्रेठ र उपमेयर कप सञ्चालनका लागि सदस्य सुन्दर पोखरेलको संयोजकत्वमा समिति बनाइएका छन् ।

त्यस्तै, महासचिव कार्कीको संयोजकत्वमा प्रचार–प्रसार समिति बनाइएको छ । जसमा उपमहासचिव शरद भण्डारी र खेलकुद पत्रकार मञ्चका अध्यक्ष भानुभक्त अधिकारीलाई सदस्य राखिएको छ । खेलकुदका गतिविधि सञ्चालन गर्न अन्य समितिहरू पनि बनाएर जिम्मेवारी दिइएको छ । कोषाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा भोला रोका र कृष्ण खड्कासहितको आर्थिक समिति छ भने उपाध्यक्ष प्रमोद हमालको संयोजकत्वमा जुरी समिति गठन गरिएको छ । रेफ्री समितिका लागि सदस्य जानुका तारुंग र फिल्ड व्यवस्थापनका लागि प्रशिक्षक नविन भण्डारीको संयोजकत्वमा समिति गठन भएको छ ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७७, बिहीबार ०९:३७