आश्रमलाई सहयोग

सरस्वतीको पूजा आराधना तथा सामाजिक कार्य गर्दै मंगलवार देशभर श्रीपञ्चमी मनाइएको छ । सुर्खेतलगायत देशभरका शैक्षिक संस्था तथा मन्दिरहरूमा बसन्त पञ्चमीको अवसरमा सरस्वती पूजासँगै विविध कार्यक्रम गरिएको हो । सोही अवसरमा विद्यालयहरूले विभिन्न सामाजिक कार्यसमेत गरेका छन् ।

वीरेन्द्रनगरस्थित इन्टरनेशनल को–अपरेटिभ एकेडेमीले मानव सेवा आश्रम सुर्खेतलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । विद्यालयले विद्यार्थीमार्फत मुठ्ठीदान संकलन गरी आश्रमलाई खाद्यान्न उपलब्ध गराएको हो । विद्यार्थीले डेढ क्वीण्टल चामल, २५ केजी दाल, १० केजी आलु र दुई हजार एक सय रूपैयाँ नगद सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रिन्सिपल यामराज गिरीसहित अन्य शिक्षक तथा कलाकार प्रेमदेव गिरी सहभागी थिए । विद्यार्थीमा मानवीय तथा सहयोगी भावनाको विकास होस् भन्ने उद्देश्यले श्रीपञ्चमीमा यस्तो कार्यक्रम राखिएको प्रिन्सिपल गिरीले बताए । श्रीपञ्चमीमा विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षराम्भ गराउने चलन छ । यस दिन सिकाए राम्रो विद्या आउने र सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७७, बुधबार ०७:३०